विराटनगर । विराटनगर–१५ स्थित जुटमिल पश्चिम (पछाडीपट्टी) नाला सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको छ । आइतबार ११ः३० को समयमा फोहोर निकाल्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना सामान्य घाईते समेत भएका छन् ।
स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घर अगाडीको नाला सफाई गरिरहेका बेला एक्कासी कुनै वस्तु पड्किएको बताइएको छ । प्रहरीले घटनामा विष्फोट भएको भनिएको वस्तु के हो भन्ने कुरा यकिन गरिरहेको छ ।
विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय रानीका वरिष्ठ सई रामप्रसाद कट्टेलले जानकारी दिएका छन् । उनका अनुसार अलीको बायाँ हात र दाहिने खुट्टामा सामान्य चोट लागेको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घाइते दुवैजनालाई उपचारका लागि पठाइएको थियो ।