पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

<span class='c1'>पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय</span> <span class='c2'>विशेष समिति गठन गर्न माग</span>

काठमाडौं । नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायतका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ । पत्रकार धरपकडलगायतका अन्य घटनाप्रति नेपाली कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ । पक्राउको स्पष्ट आधार, पुर्जी र अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालनले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो । यसको जवाफ सरकारले दिनुपर्छ ।’

नेता आङ्देम्बेले सरकारले गर्ने सही काम, जनसरोकारका विषय र सुशासनका सवालमा कांग्रेसको समर्थन रहने तर लोकतन्त्रका आधारभूत मूल्य मान्यताविपरीतका गतिविधि भएमा पार्टीले विरोध गर्ने स्पष्ट पारे ।

उनले भने, ‘नेपाली कांग्रेसले निरन्तर भन्दै आएको छ । वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारको विषय र सुशासनको सन्दर्भमा कांग्रेसको समर्थन छ । तर लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणलगायतका सार्वभौम मूल्य मान्यताविपरीत सरकार लागेमा कांग्रेसले विरोध गर्छ र गरिरहन्छ ।’

त्यस्तै, उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै सरकारका सबै काम कानुनी प्रक्रिया र विधिअनुसार हुनुपर्ने बताए । सरकारका गतिविधिमा जवाफदेहिताको अभाव देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्नुपर्दछ र राख्नुपर्दछ । सरकारको काम ड्यु प्रोसेस अफ ल (कानुनी प्रक्रियाको उचित पालना) अनुसार हुनुपर्दछ । तर सरकारको गतिविधि जे गरे पनि हुन्छ, जवाफ दिनुपर्दैन भन्ने मानसिकता र प्रवृत्तिका उपजजस्तो भएर सार्वजनिक भइरहेको छ । यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृङ्खला हो भन्ने नेपाली कांग्रेस संसदीय दलको ठहर छ ।’

कांग्रेसले पत्रकार धरपकडलगायत त्यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने मागसमेत गरेको छ । घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उसको भनाइ छ ।

आङ्देम्बेले भने, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधि स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्दछ । यसको लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट अडान पनि छ ।’

कांग्रेसले पछिल्ला घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्थासँग जोडिएको विषयका रूपमा लिँदै सरकारलाई जवाफदेही बन्न आग्रह गरेको छ । संसदीय विशेष समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्