विराटनगर । काँग्रेस नेता अभिषेक गिरी विरुद्ध प्रहरीले सम्पति सुद्धिकरणको मुद्दामा गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । तर, प्रतिवादी बनाइएका व्यक्तिसँग बयान लिन भने सकिरहेको छैन । गिरीले स्थानीय प्रशासनलाई हुलाकी राजमार्ग अन्तर्गत कटहरीको ६ किलोमिटर सडकबाट दागाधरेपछि उनका अपराध कोट्याइएको थियो । त्यसक्रममा मोरङ कारागार भित्रको उनको साम्राज्य भत्काउनदेखि कटहरीको सडक ठेक्कामा उनले राखेको बर्चश्व तोड्न प्रहरी सफल भएको थियो ।
गत असार १३ गतेबाट अभिषेक विरुद्ध चलेको अनुसन्धान सिलशिला अहिले पनि जारी छ । कारागारका कैदीबन्दीको भत्ता अपचलन तथा असुलेको आपराधिक विश्वासघातको मुद्दामा उनी धरौटीमा छुटेका छन् । त्यस बाहेक निर्माण व्यवसायी सुभाष श्रेष्ठ र दिलिप चौधरीले हालेको मुद्दामा उनी मिलापत्र गर्न सफल भएका छन् । तर, उनी विरुद्ध कारागारबाट कैदीबन्दीको सुविधा असुलेको घटना हुँदै प्रवेश गरेको सम्पति सुद्धिकरणको मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानका सबै फायलहरु अध्ययन सकाएको छ ।
त्यसका आधारमा अनुसन्धान प्रतिवेदन तयार पार्नु अगाडी मुख्य प्रतिवादी अभिषेक गिरीसहित उनीसँग जोडिएका सन्जय मन्डलसहितका चारजना प्रतिवादी र गिरीका परिवारसँगको बयान लिनुपर्ने हुन्छ । प्रहरीले गिरीलाई बयानका लागि बोलाइरहेको भएपनि उनी भने भागिरहेका छन् ।
मोरङका प्रहरी प्रमुख कबित कटुबालका अनुसार उनको मुद्दामा उनीसहित बयान लिनुपर्ने देखिएका व्यक्तिहरुको फायल खडा भइसकेको छ । तर, मुख्य प्रतिवादी गिरी भने भागिरहेका छन् । गिरी यो बीचमा गोवा पुगेका थिए । त्यहाँ हुँदा केहि झमेलामा समेत फसेका थिए । त्यसपछि श्रीलंका समेत पुगेको बताइन्छ । त्यसपछि गिरी झापा नजिक पारेर सिक्किममा बढी बस्दै आएको प्रहरीको बुझाई छ । गत दशैंमा गिरी झापासम्म आएपनि विराटनगर नआएको प्रहरीले दावी गरेको छ ।
प्रहरी गिरीलाई यस पटक धरपकड गर्ने पक्षमा छैन । सम्पति सुद्धिकरण विरुद्धको कसुरमा उनीमाथि लागेको आरोपको खण्डन गरे पुग्छ । बाँकी मुद्दाका प्रक्रिया अदालतबाट बढ्छ । तर, गिरी अहिलेका प्रहरी उपरीक्षक कबित कटुवालको सरुवा पर्खेर बसिरहेका छन् । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटले बारम्बार उनीसँग फोन सम्पर्क गरिरहेको छ । गिरीले तिहारपछि बयान दिने बताइरहेका छन् । कारण, उनी अहिलेका एसपी कटुवालको सरुवाको प्रतिक्षामा छन् । प्रहरीले अहिले उनलाई व्यक्तिगत रुपमा सम्पर्क गरिरहेको छ । तर, एसपी कटुबालले अब तिहार अगाडी नै कानुनी प्रक्रिया सुरु गर्ने दावी गरेका छन् । यो भनेको उनलाई कानुनी रुपमा पत्राचार गरिनेछ । त्यसपछि उनी सम्पर्कमा आउनुपर्ने हदम्यादमा नआएमा पक्राउ पूर्जी लिइनेछ ।
मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले कानुनी बाटोबाटै अब गिरीसँग सम्पर्कमा जाने तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार उनलाई अहिलेसम्म अनुरोध मात्रै भइरहेको छ । गिरीको सम्पति सुद्धिकरण कसुरको मुद्दाको अनुसन्धान मोरङ प्रहरीले नै गरेको हो । तर, यसमा सहयोग भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत गरेको छ । सिआइबीको एउटा विशेष टोलि मोरङमा एक सातासम्म बसेर गिरीको कारोबारमा देखिएका सबै पक्षको अध्ययन गरेर फर्किएको थियो । जसमा प्रहरीले गिरी र गिरीका आफन्त समेतको बैंकका सबै खाताहरु, त्यहाँबाट भएको कारोबार एनालाइसिस गरेको थियो । सिआईबीले संगठित गिरोह बनाएर गिरीले गरेको वित्तीय अपराधको औपचारिक सञ्जाल खोतलेको थियो । जसबाट गिरीसँग जोडिएर साझेदारी कारोबार गर्ने व्यक्तिहरुको फायल तयार भएको हो ।
अभिषेक गिरी असार १३ गते जिल्ला कारागार मोरङका कैदीबन्दीको सुविधा वापतको रकम असुल गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलिको नियन्त्रणमा परेका थिए । जिल्लाको नियन्त्रणमा रहेर अनुसन्धान गर्ने क्रममा उनी अदालतको आदेशबाट हाजिर जमानीमा छुटे । छुटेलगतै सिआईबीको नियन्त्रणमा असार २२ गते पक्राउ परेका थिए । सिआईबीले निर्माण व्यवसायी सुभाश श्रेष्ठमाथि विश्वासघात तथा ठगी कसुरमा अनुसन्धान गरेर साउन १५ गते गिरी विरुद्धको मुद्दा काठमाण्डौं जिल्ला अदालतमा लगेको थियो । अदालतले पाँचलाख धरौटी माग गरेपछि गिरीले बुझाएनन् । किन भन्दा उनी विरुद्ध मोरङ प्रहरीमा दिलिप चौधरीले अर्को ठगीको उजुरी दिएका थिए ।
तर, डिल्ली बजार कारागारबाट गिरीले निर्माण व्यवसायी श्रेष्ठसँग लेनदेनको मुद्दामा हिसाब मिलान गर्ने आश्वासन दिएपछि उनी छुटे । छुटेपछि चौधरीको जाहेरीका आधारमा उनी पुनः पक्राउ परे अनि चारदिनपछि छुटे ।
सिआइबीको स्पेसल डाटा एनालाइसिस टोलीले गिरीको वित्तीय अपराध, संगठित अपराध, साइबर अपराध तथा डिजिटल वा विद्युतीय रेकर्ड र प्रविधि तथा डेटा विश्लेषण गर्न आन्तरिक रूपमा दक्ष प्राविधिक तथा अनुसन्धान विशेषज्ञहरूको टोली परिचालन गरेको थियो । सम्पति सुद्धिकरणमा मुद्दाको अनुसन्धान गर्ने हदम्याद ९० दिन हुन्छ । गिरीको हदम्याद अहिले नै नाघिसकेको छैन ।