विराटनगर । रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि. को हदबन्दी छुटमा प्राप्त गरेको सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टामा संलग्न रहेको दावीसहित पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वमन्त्री मिनेन्द्र रिजालसहितका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै विराटनगर–२ स्थित सोमबारे हाटको जग्गा खरिद गर्ने ४३ जना जग्गाधनी समेत प्रतिवादी बनाइएका छन् ।
सरकारी जग्गामा अनाधिकृत चलखेलबाट व्यक्तिको हातसम्म पु¥याउँदा उनीहरु समेत प्रतिवादी बनेका हुन् । यद्यपी उनीहरुबाट अन्य कुनै सम्पति असुल गर्ने भनिएको छैन । तर, उनीहरुले खरिद गरेर व्यक्तिका नाममा रहेको जग्गा सरकारीको नाममा फर्काउनुपर्ने वा जफत हुने गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विराटनगर शंकरपुरस्थित सोमबारे हाट छेउको ४ बिघा ५ कट्ठा ९ धुर जग्गा सर्तविपरीत सट्टापट्टा तथा बिक्री भएको अख्तियारको आरोप छ। विभिन्न मितिमा कारोबार हुँदै उक्त जग्गा व्यक्ति तथा कम्पनीका नाममा पुगेपछि हालका जग्गाधनीलाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको अख्तियारले स्पष्ट पारेको छ। जग्गा जफतका लागि प्रतिवादी बनाइएकामा अनिता देवी धनावत, अनु कार्की, आशा कुमारी गुप्ता, कान्ति आचार्य, काशीनाथ खनाल, गोमा न्यौपाने खनाल, चन्द्रकला मैनाली, जानुका बराल, जिना श्रेष्ठ र टेकबहादुर महत छन्।
यसैगरी डेल्टा रोयल्टी प्रा.लि., तुलसीराम अग्रवाल, त्रिलोकचन्द अग्रवाल, जगदीशप्रसाद अग्रवाल, अनुज अग्रवाल, दीपककुमार मुन्दडा, पवनकुमार शारदा, प्रदीपकुमार मुरारका र निरू श्रेष्ठ पनि प्रतिवादीको सूचीमा छन्। नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी संस्था लिमिटेडलाई समेत जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। यो अहिलेको मोरङ सहकारी अस्पताल हो ।
यस्तै पुष्पा तवदार, प्रकाश शर्मा, भारती मास्के श्रेष्ठ, मधुदेवी गुप्ता, मिना कुमारी के.सी., मैया उप्रेती, रमा चौधरी पाण्डे, रमिला प्रधान श्रेष्ठ, राजुदेवी शारदा, रागेश्वरी साह, राधा पोखरेल, रञ्जना खेतान र वर्तिका खेतानको नाम पनि सूचीमा छ। रेवती राई, ललित सोनी, विन्दु अग्रवाल, शिवनारायण साहु, शीतलकुमारी गुप्ता, सुशीलाकुमारी गौतम, श्यामसुन्दर पौडेल (मिलन), सनातन धर्म सेवा समिति, शोभा पोखरेल र हरिनारायण यादवलाई पनि प्रतिवादी बनाइएको छ।
यसै प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल, तत्कालीन सरकारी अधिकारी, कर्मचारी, रिजाल क्यानिङ एण्ड कम्पनी र त्यसका सञ्चालकसहित ४६ मुख्य प्रतिवादीविरुद्ध जनही ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद र बिगो असुलउपरको मागदाबी गरेको छ।