विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीले मंगलबार झण्डै २ लाख ५० हजार बराबरको पटका खाल्डोमा हारेर पुरिदियो । विभिन्न मितिमा आफ्नो इलाका भित्र भारतबाट प्रवेश गराउँदै गरेको अवस्थामा उक्त पटका नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको पटका नष्ट भने मंगलबार गरिएको थियो ।
नेपालीहरुले मनाउने दोस्रो महत्वपूर्ण चाड दिपावली नजिकीएको छ । दिपावली लगतै छैट पनि भित्रिएको छ । दिपावली होस् की छैठ पटका बढी प्रयोग हुन्छ । अर्थात् घरघरमा पड्काउने चलन छ । अहिले नै विराटनगरमा खोर्साने पटकाको ठाँस्सठुस्स आवाज सुनिन थालेको छ । सडकमा, घरमा यसलाई पड्काएर मनोरञ्जन लिन साना बालबालिकाले हातहातमा बोकेर दौडिन थालिसकेका छन् ।
सीमामा असाध्यै कडाई गरिएको सुरक्षा संयन्त्रको दावीका बीच दिपावलीमा प्रयोग हुने सबै फूलका मालादेखि पडकने पटका समेत बजार छिरिसकेको छ । सुरक्षा संयन्त्रले देखेको र भेटेको तथा सूचना पाएको मात्रै पक्रन्छ । कतिपयमा सेटिङ हुने गरेको आरोप समेत लाग्ने गरेको छ । कतिपयले भने भारतसम्म आएका मालवहाक ट्रकको क्याबिनको सीटमुनी, ट्याङकरमा समेत राखेर पटका भित्र्याउने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा संयन्त्रलाई छलेर भित्र्याउने पटका बालबालिकाका लागि असाध्यै जोखिमपूर्ण मानिन्छ । कहिलेकाँहि भवितव्यमा ठूला व्यक्तिहरुमाथि समेत यसले क्षति पु¥याउने गरेको छ ।
यसको पड्काईको उत्साह भन्दा बढी यसले वातावरणमा पार्ने असर धेरै छ । पटाका बनाउँदा वतावरणका लागि मात्र नभएर मानव शरीरका लागि अति खतरनाक मानिएका लिड, सल्फडडाइअक्साईड, नाइट्रस अक्साईड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ ।
यसरी बनाइएका पटाका पड्काएपछि धूवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ । यसबाट दम, एलर्जी जस्ता रोगहरू मात्र नभएर विस्तारै क्यान्सर जस्ता प्राण घातक रोगसमेत लाग्ने गर्छ । तिहार र छठको समयमा जताततै पटाका पड्काउँदा उत्पादन भएको फोहोरलाई माटो र पानीमा फ्याँक्ने चलन छ । यसलाई सुरक्षित विर्सजन गरिँदैन । जसले गर्दा अति हानिकारक मानिएको रसायन मानव शरीरमा प्रवेश गर्ने जोखिम उच्च रहन्छ ।
अर्को कुरा सुरक्षा संयन्त्रलाई छलेर भित्र्याइएको पटकाले सुरक्षा जोखिम समेत बढाउँछ । पटका पड्केको आवाजले केहि नसुन्ने स्थितिमा अपराधका अन्य घटना हुनसक्ने संभावना समेत उतिकै रहेको छ । यस्तो बेला जोखिममा पर्नेहरुले नै पटका पड्काउने काम गर्नु आफ्नै लागि हानिकारक हुनसक्छ । प्रहरी अधिकारीले पटका पड्काएर अनावश्यक कोलाहल सिर्जना गर्नेहरुको फोटो तथा भिडियोसहित जानकारी दिएमा उनीहरुलाई नियन्त्रणमा लिने जनाएका छन् ।