विराटनगर । विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा फलामका साना पोलमा गमला झुण्ड्याउने फर्माखाली छन् । तीनपैनीदेखि ट्राफिक चौकसम्मको तीन किलोमिटर दुरीमै यस्ता पोल अनि गमला राख्ने फर्मा साङ्ग्लोमा झुण्डिएका भेटिन्छन् । तर, यहाँ राखिएका गमला छैनन्, गमलाका फूल पनि छैनन् । गमला भएका र फूल भएका पनि सप्रेका देखिदैनन् ।
सात वर्षअगाडी विराटनगर महानगरपालिकाले सहर सौन्दर्यकरणको कार्यक्रम ल्याएको थियो । जसअन्तर्गत मुख्य बजार क्षेत्रको सकडका दुई किनारमा फूल रोपिएको थियो । पोलको सहारामा गमला राख्नेअनि फूल रोपेर सहरलाई सुन्दर बनाउने कार्यक्रम त्यतिबेलै सकियो । त्यसपछि रोपिएका फूललाई नियमित पानी दिइएन, पुरानो फूलका बोट प्रतिस्थापन गर्ने वा नयाँ माटो र मल दिने काम गरिएन ।
अहिले विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडको फूटपाथमा गमला राख्ने फर्मा झुण्डिएका थुप्रै पोल रहेका छन् । तीनमा गमला छैन, फूल छैन अनि खर्च गरेको संरचनाको संरक्षण पनि छैन । बरु गमला राख्न खर्च गरेर गाडीएका पोल उखेल्ने छलफल सुरु भएको छ । अहिले गमलामा भएका फूल पनि लत्रक्क झुण्डिएका छन् । स्याहार छैन अनि पानी र मल नहुँदा फूल फुल्ने भन्दा लत्रिनेबढी देखिन्छन् । फूलसँगै बजेट समेत सुकेको छ, अनि सुन्दर हुनुपर्ने सहर कुरुप र जोखिम बढेको छ ।
पोलको फर्मामै गमला फुटेर जोखिम भएको गुनासोपछि दशवटा जति उखलिएको महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिएका छन् । जोखिम भएकाहरुलाई नगर प्रहरीले हटाउने काम पनि गरिरहेको उनी बताउँछन् । यो ओलझोलमै खर्च गर्नुपर्ने बजेट सक्ने काम बाहेक केहि नभएको नागरिक बताउँछन् । किनकी यसमा लगानी गरेपछि त्यसको उत्पादन प्राप्त हुनुपर्ने थियो ।
स्थानीय सरकार र प्रदेश सांसदको समेत बजेट खर्च गरिएको थियो । विराटनगर महानगरपालिकाले १६८ पोलमा ३३६ गमला राखेर फूल रोप्न ६३ हजार ७०० बजेट खर्च गरेको थियो । गमलमा हप्ताको एकदिन पानी हाल्नेघोषणा समेत कार्यक्रम सञ्चालन गर्दा भयो । तर, त्यसयता प्रकृतिको भरमा मात्रै छ । बरु विराटनगर महानगरपालिकाको नगर प्रहरीले केहिबेर पानी हाल्ने र कहिलेकाँही गोडमेल गर्ने कामसम्म गरेको नग प्रहरी पौडेलले बताएका छन् । यद्यपी यो मान्छेले भेट्न नसक्ने उचाईका पोल रहेका कारण पानी हाल्न वा गोड्न सहज पनि छैन ।
कोशी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद केदार कार्कीको कोषबाट समेत बजेट बिनियोजन गरेर यहाँ खर्च गरिएको विराटनगर महानगरपालिका सरसफाई शाखा प्रमुख अशोककुमार गुप्ताले जानकारी दिएका छन् । २०७७ सालमा अभियानकै रुपमा सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गतका संरचना समेत अब जीर्ण हुनेतर्फ पुगिसकेका छन् । गुप्ताका अनुसार फूल रोपेपछि त्यसलाई पानी हाल्ने जिम्मेवारी त्यहिंका व्यापारीलाई दिइएको थियो । तर, हरेक दिन बिहान पूजा गर्दा पानी हाल्ने भनिएपनि पोलमा राखिएका गमलासम्म पुग्न समस्या हुँदा त्यो कार्यन्वयन हुन नसकेको हो । अहिले त्यसलाई हटाउने की व्यवस्थापनमा नयाँ रुप दिने भन्ने विषयमा छलफल भइरहेको महानगर सरसफाई शाखा प्रमुख गुप्ताको भनाई छ ।
कतिपयले भने गमलालाई अझैंकेहि तलसम्म ल्याएर पानी हाल्न मिल्ने बनाउनुपर्ने र त्यसमा तुलसीको बिरुवा रोप्न सुझाव समेत दिएका छन् । यदि तुलसीको बिरुवा रोप्ने हो भने, त्यसको संरक्षणमा सार्थकता पाउने संभावना रहेको छ । त्यस बाहेक सहरभर तुलसीले सकारात्मक उर्जा छर्नसक्ने संभावना पनि उतिकै रहन्छ ।



