विराटनगर । भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गीत–संगीत निर्माण गर्दै आएको मैथिली अनलाइनको ब्यानरमा निर्माण भइरहेको नेपाली भाषाको छठि भजन ‘जयजय हे जय सूर्यदेव, जयजय हे छठि माता’ को छायांकन सम्पन्न भएको छ।
गत बुधबार विराटनगरको पोखरियास्थित सिंघिया खोला किनारमा गीतको म्युजिक भिडियो छायांकन गरिएको हो। हाल गीतको दृश्य सम्पादन कार्य भइरहेको निर्माण पक्षले जनाएको छ। भजन आगामी एक–दुई दिनभित्र मैथिली अनलाइनको युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने तयारी छ।
गीतका शब्द विराटनगरका पत्रकार तथा मैथिली अनलाइनका सञ्चालक नवीन कर्णले लेखेका हुन् भने वरिष्ठ संगीतकार शैलेन्द्र विश्वकर्माले संगीत दिएका छन्। गीतमा राष्ट्रिय गायक नितिन गजुरेल र चर्चित गायिका निशा पोद्दारले स्वर दिएका छन्। त्यसैगरी स्वर संगम संगीतालयका संगीत साधक माही अटल र आरजु बोहराले सहगायिकाका रूपमा स्वर दिएका छन्।
विराटनगरस्थित बिट्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ काठमाडौंका संगीत संयोजक सुरज श्रेष्ठले गरिरहेका छन्।
म्युजिक भिडियोमा विराटनगरका धर्मप्रेमी ललकु सहनी, सुनिता सहनी, ज्योति सहनीसहित एक दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा सम्पादन कात्तिक राजवंशीले गरेका छन् भने छायांकन धिरेन साह र श्रृंगार अशोक मण्डलले गरेका छन्।
रचनाकार कर्णका अनुसार गीतमा मानव जीवनमा सूर्यदेवको महत्व र प्रभावका साथै छठी भगवतीप्रतिको श्रद्धा र आस्थालाई समेटिएको छ। नेपाली भाषामा छठि भजनको अभावलाई मध्यनजर गर्दै मैथिली अनलाइनले यसअघि पनि नेपाली भाषामा दुईवटा छठि गीत सार्वजनिक गरिसकेको छ।
कर्णले गीत निर्माणका क्रममा छठ पर्वको पारम्परिक, विशिष्ट र मौलिक धुन तथा लयलाई विशेष ध्यान दिइएको बताए। गीतको संगीत र लय सुन्नेबित्तिकै श्रोता तथा दर्शकले छठ पर्वको मौलिक धार्मिक र सांस्कृतिक अनुभूति गर्न सक्ने उनको विश्वास छ।
मैथिली अनलाइनले यसअघि २०८२ कात्तिकमा ‘अंजुली भरि जल लिई आयौं हे माता’ बोलको पहिलो नेपाली छठि गीत सार्वजनिक गरेको थियो। उक्त गीतमा ईशा यादव र किरण ब्यासले अभिनय गरेका थिए। त्यसैगरी सोही वर्षको चैती छठका अवसरमा ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको थियो। दोस्रो गीतमा तत्कालीन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र उनकी पत्नी रञ्जिता पराजुलीले अभिनय गरेका थिए।
नयाँ भजन सार्वजनिक भएसँगै नेपाली भाषामा छठ पर्वको धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परालाई संगीतमार्फत प्रवर्द्धन गर्ने मैथिली अनलाइनको अभियानले थप निरन्तरता पाउने अपेक्षा गरिएको छ।