विराटनगरमा खुल्यो जग्गाको कित्ताकाट, एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने महानगरको तयारी

<span class='c1'>विराटनगरमा खुल्यो जग्गाको कित्ताकाट, एक महिनाभित्र</span> <span class='c2'>भू–सेवा सञ्चालन गर्ने महानगरको तयारी</span>

विराटनगर । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुल्ने भएको छ । यसले विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने भएको हो । भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ । यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो । नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषदबाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको हो ।
महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्यांक फाइल र तथ्यांक भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ ।
भू–उपयोग वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउने तथा अन्य घरजग्गासम्बन्धी कामले अब सहजता पाउने विश्वास गरिएको छ ।

एक महिनाभित्रै भू–सेवा सञ्चालन गर्ने लक्ष्य
कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत अघि बढाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको बताएका छन् ।
कोइरालाका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्नेछ । सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने महानगरको योजना छ ।
‘महानगरपालिकाभित्र भू–उपयोग वर्गीकरणको काम पूरा गरेर आवश्यक विवरण सम्बन्धित कार्यालयमा पठाइसकेका छौँ । अब जग्गाको कित्ताकाटसम्बन्धी कामले गति लिने अपेक्षा गरेका छौं,’ उनले भने, १भू–सेवालाई पनि आगामी एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेका छौँ । सेवाग्राहीले सहज, छिटो र व्यवस्थित सेवा पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।’
प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको बताए ।
उनका अनुसार भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक प्रक्रियामा सहजता आउनेछ । यसले सेवाग्राहीको समय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन मद्दत गर्नेछ ।
‘भू–सेवा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौं । प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित गर्दै आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ, शर्माले भने, ‘यसबाट जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले भोग्दै आएका झन्झट कम हुनेछन् र सेवा प्रवाह थप छिटो, सहज तथा प्रभावकारी बन्नेछ ।’

घरजग्गा कारोबारले गति लिने अपेक्षा
विराटनगरका १९ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया खुल्नु महानगर क्षेत्रको घरजग्गा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कित्ताकाट रोकिँदा जग्गा किनबेच, जग्गा विभाजन तथा अन्य कानुनी प्रक्रियामा समस्या झेल्दै आएका जग्गाधनीलाई यसले राहत दिने महानगरका सूचना अधिकारी अर्जुन थपलियाले बताए ।

कित्ताकाट खुला भएसँगै घरजग्गा कारोबारमा देखिएको प्रशासनिक अवरोध हट्ने र रोकिएका काम क्रमशः अघि बढ्ने विश्वास गरिएको छ । त्यसमाथि एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने महानगरको तयारीले जग्गासम्बन्धी सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्