विराटनगर । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवको शुभ अवसरमा नेपाल बैंक लिमिटेड, मिल्स एरिया शाखाद्वारा श्री रघुपति जुट मिल्स परिसरमा एटीएम सेवाको औपचारिक उद्घाटन गरिएको छ।
उक्त एटीएम सेवाको उद्घाटन नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारीबाट सम्पन्न भएको हो। कार्यक्रममा मिल्स एरिया शाखाका शाखा प्रबन्धक बिनिता शर्मा तथा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, रघुपति जुट मिल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज अग्रवाल, प्रमुख वित्तीय अधिकृत (CFO) चन्द्रमणि दाहाल तथा जुट मिल्सका व्यवस्थापन टोलीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त एटीएम सेवा सञ्चालनमा आएसँगै रघुपति जुट मिल्सका कर्मचारी तथा सेवाग्राहीहरूलाई सहज, सरल र छरितो रूपमा बैंकिङ सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा आधुनिक, सहज र पहुँचयोग्य बैंकिङ सेवाको विस्तार गर्दै वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने उद्देश्यलाई निरन्तरता दिएको छ।