विराटनगर मङ्सिर ३ ,
जलविद्युत्को अपार सम्भावना बोकेको नेपालको प्राविधिक तथा वैज्ञानिक अनुसन्धान क्षेत्रमा विराटनगरकी ममता रिजालले ऐतिहासिक कीर्तिमान कायम गरेकी छन्। नेपालकै पहिलो महिला टर्बाइन अनुसन्धानकर्ता तथा यस क्षेत्रकी पहिलो महिला विद्यावारिधि (डाक्टर) का रूपमा चर्चा बटुल्दै उनले जलविद्युत् प्रविधिको अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी हुन्।
हाल काठमाडौं विश्वविद्यालयको टर्बाइन टेस्टिङ ल्याब (TTL) मा आबद्ध रहेर अनुसन्धान गरिरहेकी रिजालले विशेषगरी जलविद्युत् आयोजनाहरूमा प्रयोग हुने 'फ्रान्सिस टर्बाइन' को कार्यक्षमता, नदीको बालुवाले टर्बाइनमा पुर्याउने क्षति (सेडिमेन्ट इरोजन) तथा 'ल्याबिरिन्थ सिल्स' जस्ता जटिल प्राविधिक विषयमा गहन अध्ययन गर्दै आएकी छन्। नेपालका हिमाली तथा पहाडी नदीहरूमा बग्ने बालुवाका कारण टर्बाइन छिटो खिइने समस्या समाधान गर्न उनको यो अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
रिजालको यस महत्वपूर्ण वैज्ञानिक खोज विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल नेचर अन्तर्गतको 'साइन्टिफिक रिपोर्ट्स' (Scientific Reports) मा समेत प्रकाशित भएको छ। सन् २०२६ मा प्रकाशित उक्त अनुसन्धान पत्रमा फ्रान्सिस टर्बाइनको ल्याबिरिन्थ सिल्समा हुने दबाब घट्ने प्रक्रियाबारे सूक्ष्म विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित जर्नलमा नेपाली महिला वैज्ञानिकको शोध प्रकाशित हुनुले विश्व मञ्चमा नेपालको प्राज्ञिक क्षमतालाई थप उचाइमा पुर्याएको छ।
प्राविधिक तथा इन्जिनियरिङ अनुसन्धानको जटिल विधामा पुरुषहरूको बाहुल्य रहँदै आएको पृष्ठभूमिमा विराटनगरकी ममताले प्राप्त गरेको यो सफलताले नयाँ इतिहास रचेको छ। उनको यो असाधारण प्राज्ञिक उपलब्धिले जन्मथलो विराटनगर मात्र नभई सिङ्गो देशलाई नै गौरवान्वित बनाएको छ। स्थानीय स्तरमा समेत उनको सफलताको चौतर्फी प्रशंसा भइरहेको छ भने विज्ञान तथा प्रविधि क्षेत्रमा लाग्न चाहने नेपाली युवापुस्ता र विशेषगरी महिलाहरूका लागि उनी एक सशक्त प्रेरणाको स्रोत बनेकी छन्।