विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा रहेका विराटनगर–८ का अभिषेक गिरीको वैध सम्पतिको यकिन गर्ने काममा प्रहरी तीन महिनायता लागिरहको छ । यस क्रममा उनको शेयर रहेका कम्पनी, बैंकका एकाउन्ट र कारोबार, जग्गाको अभिलेख प्रहरीले संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले हालसम्म फेला पारेको गिरीको शेयर रहेका सात कम्पनी रहेका छन् । जसमा शैक्षिक संस्थादेखि शैक्षिक परामर्श केन्द्र समेत रहेका छन् । गुण्डा नाइके वा डन भनिएका गिरी शैक्षिक सस्थामा लगानी गरेर देशका लागि प्राज्ञिक जनशक्ति उत्पादन गर्नेदेखि विदेशमा पढ्न जाने विद्यार्थी समेत पठाएर सामाजिक सेवा गरिरहेको खुलेको छ । उनको सामाजिक सेवाकै कारण गिरीका नाममा तीनवटा बैंकमा रहेको खाताको ब्यालेन्स भने अत्यन्तै कम देखिएको छ । उनीमाथि प्रहरीले कडाईपूर्वक कारवाही चलाएपछि पछिल्लो समय आउने मिति घोषणा गरेका छन् । गिरी मंसिर १५ गते भित्र आउने बताएका छन् । उनले स्थानीय प्रशासनलाई चुनौती समेत दिएका छन् । यद्यपी कसुर अनुसन्धानमा रहेका व्यक्तिले भनेको कुरालाई खासै वास्ता भने गरिएको छैन । तर, गिरीको नाममा देखिएको सम्पतिको विवरणमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गिरीको रमित हाउस प्रा.लि., सन्सारी माइ रियल हाउजिङ्ग प्रा.लि., सोनु ट्रेडिङ कम्पनी, कलेज अफ ल एण्ड मेनेजमेन्ट, रोयल एजुकेशन कन्सल्टेन्सी र श्रीमती सोनु आचार्यको नाममा पीस पेभी लियन तथा दिदी अर्पणा तुलाधारको अन्नापूर्णामा उनको शेयर देखिएको छ । यसैगरी गिरीको एनआईएमी बैंक, ज्योती विकास बैंक र मुक्तिनाथ विकास बैंकमा उनको नाममा खाता रहेको पाइएको छ । तर, उनको आफ्नो खाताबाट भएको कारोबार न्यून देखिएको छ । अहिले बैंक ब्यालेन्स समेत तीनवटै खातामा २० हजार भन्दा कम भेटिएको छ । गिरीको कारोबारसँग जोडिएकी अर्चना गिरीको नाममा ६ वटा बैंकमा खाता फेला पारेको छ । अर्चना गिरी र आरसी सप्लायर्सबाट कारोबार हुने गरेको देखिएको छ । जग्गाको हकमा भने गिरी र उनको परिवारको नाममा जताततै फेला परेको छ । जग्गा खरिद गरेका आधारमा उनको बैंक कारोबार भने कम देखिन्छ । प्रहरीले सम्पति शुद्धिकरण कसुरमा बयान दिन बोलाउँदा उपस्थित नभएपछि घरमा सूचना टाँस गरेको छ ।
प्रहरीले घरको भित्तामा सूचना टाँसेपछि गिरीले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफू स्वास्थ्य उपचारका लागि बाहिर रहेको र १५ गतेभित्र नेपाल फर्किएर बयान दिने बताएका छन् । उनले भिडियोमार्फत प्रहरी र स्थानीय प्रशासनविरुद्ध आक्रोश पोख्दै धम्कीको भाषासमेत प्रयोग गरेका छन् । गिरीलाई सामाजिक सञ्चालबाट स्थानीय प्रशासनलाई दिएको धम्की अर्को महंगो पर्नसक्ने संभावना समेत रहेको छ । किनकी उनी आपराधिक लाभ लिई संगठित अपराधमा पहिल्यैदेखि संलग्न रहँदै आएको आरोप लाग्ने गरेको थियो । पक्राउ पर्ने सूचना पाएपछि गिरी फरार रहेको र उनी गत असोजदेखि भारतमा बस्दै आएको प्रहरी स्रोतको दाबी छ । मोरङ कारागारका कैदीबन्दीलाई वितरण गर्नुपर्ने १३ लाख रुपैयाँभन्दा बढी भत्ता गायब भएको घटनामा गिरी गत असार १३ गते पक्राउ परेका थिए । उच्च अदालत विराटनगरको आदेशपछि म्याद थप हुन नसक्दा असार २३ गते रिहा भएका उनलाई सोही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनः पक्राउ गरेको थियो ।
साउन २१ गते छुटेका उनलाई मोरङ प्रहरीले फेरि नियन्त्रणमा लिएकोमा उजुरीकर्तासँग मिलापत्र भएपछि रिहा भएका थिए । त्यसयता सार्वजनिक रूपमा नदेखिएका उनी पक्राउ पर्ने डरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समेत सहभागी नभएको स्रोतको भनाइ छ । गिरीले आफ्नो राजनीतिक तथा सामाजिक जीवन सकाउन लाग्नेहरु धेरै रहेको गुनासो गर्दै आएका छन् । काँग्रेसको विराटनगर नगरसभापति उठ्ने तयारी गरिरहेका गिरीलाई त्यस अगाडी नै भगाइएको आशंका गर्नेहरु समेत रहेका छन् ।
तर, अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेर छुटेपछि सुध्रने घोषणा गरेपनि भित्रभित्र उनको असुली धन्दाको सञ्जाल लामो देखिएको छ । प्रहरीले गिरी र उनका परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको स्रोतमाथि अनुसन्धान गरिरहेको छ । मोरङका प्रहरी प्रमुख कबित कटुवालले गिरी र उनको परिवारको सम्पत्तिमाथि अनुसन्धान भइरहेको बताएका छन् । त्यति मात्रै नभई जग्गा जोड्दा हुने सरकारी मूल्यांकन र चलनचल्तीको कारोबारको समेत प्रहरीले खोजिगरिरहेको छ । यसबाट कालोधनलाई कसरी बैध बनाइएको छ भन्ने कुरालाई समेत मध्यनजरमा राखेर अनुसन्धान भइरहेको एसपी कटुबाल दावी गर्दछन् ।
गिरीविरुद्ध यस अघि २०६८ सालमा पनि विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा परेको थियो । उक्त मुद्दामा उनले सफाइ पाएका थिए । त्यसपछि उनले जोडेको सम्पत्तिलाई गणना गरेर पुनः अनुसन्धान सुरु भएको प्रहरी अधिकारीको दाबी छ ।
जताततै जग्गा
गिरीले उनकी श्रीमती सोनु आचार्यको नाममा जग्गा खरिद तथा दर्ता गरेको समय तालिका भने २०८० देखि २०८२ को अवधिमै ९ ठाउँमा जग्गा जोडेको देखिएको छ । काठमाडौँको बुढानीलकण्ठ क्षेत्र अति महँगो र सुविधायुक्त क्षेत्र मानिन्छ । मालपोत कार्यालयको अभिलेख अनुसार काठमाडौँको साबिक विष्णु गाविस हाल बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा अवस्थित कित्ता नम्बर १०३९ को २१७.०१ वर्गमिटर क्षेत्रफलमा फैलिएको घर र जग्गा सोनु आचार्यको नाममा एकलौटी स्वामित्व रहने गरी दर्ता भएको छ ।
२०८२ साल कार्तिक २८ गते राजीनामा लिखत पारित गरी यो घरजग्गा आचार्यको नाममा सारिएको देखिन्छ । यस्तै मोरङको साबिक कटहरी गाविस हाल कटहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको साबिक कित्ता नम्बर १९२ को कुल १८२२.३७ वर्गमिटर क्षेत्रफल भएको जग्गा सोनु आचार्यको नाममा २०८० साल मंसिर २५ गते दर्ता भएको छ । आवासीय प्रयोजनको यो जग्गा खरिद गर्न प्रयोग गरिएको आर्थिक स्रोतको वैधतामाथि अहिले प्रश्न उठेको छ । यसैगरी मोरङकै बबियाविर्ता वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३७९ को ४६५५.५२ वर्गमिटर जग्गा २०८२ साल असोज २७ गते सोनु आचार्यको नाममा नामसारी भएको छ । सोही वडामा रहेका कित्ता नम्बर १०८, १११, १०५, र १०६ का अन्य जग्गाहरू पनि आचार्यको नाममा दर्ता छन् । यी जग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूबाट तेस्रो पक्षले लिलाम सकार गरेपछि दाखेल खारेज प्रक्रियामार्फत सोनु आचार्यको नाममा ल्याइएका हुन् ।
मोरङकै विराटनगर उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित कित्ता नम्बर ६५८२ को ३३६.६३ वर्गमिटर क्षेत्रफल भएको अर्को जग्गा पनि २०८२ साल चैत १९ गते राजीनामा लिखत पारित गरी सोनु आचार्यको स्वामित्वमा ल्याइएको छ । यसका अतिरिक्त धनकुटा जिल्लाको साबिक कार्कीछाप हाल धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेको कित्ता नम्बर १२६३ को ५६२.४० वर्गमिटर क्षेत्रफल भएको व्यावसायिक जग्गा पनि सोनु आचार्यकै नाममा दर्ता छ । २०८२ साल साउन २१ गते यो जग्गा पनि एमालेका युवा मुकेश बुढाथोकीको नामबाट राजीनामा लिखतमार्फत खरिद गरिएको हो । यसैगरी झापा दमक–९ मा गिरीको नाममा जग्गा भेटिएको छ । आरसी सप्लायर्सको नाममा १४ कित्ता जग्गा फेला परेको छ । अर्चना गिरीको नाममा ९ कित्ता र अन्नपूर्णा आयल सप्लायर्सको नाममा ६ कित्ता जग्गा देखिएको छ । गिरीले कारागारबाट आफ्नो साम्राज्य चलाएका थिए । उनी छुटेपछि पनि कारागार उनको कब्जामा रहेको आरोप थियो । असार १३ गते उनी कैदीबन्दीले पाउने भत्ता सुविका खोसेर असुलेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि स्थानीय प्रशासनको नियन्त्रण भन्दा बाहिर रहेको कारागारमा लामो समय कसरत गरेपछि मात्रै प्रशासनले नियन्त्रण राख्न सकेको थियो ।
नियन्त्रणमा राखेपछि त्यहाँ गिरी समूहबाट हुलदंगा मच्चाउने, असुलीधन्दा चलाउनेहरु सरुवा गरिएको थियो । मोरङ कारागारको ब्लक बीमा प्रकाश तिम्सिनालाई नाईके तोकिएको थियो । ए मा अर्जुन परियार रहेका थिए । अहिले प्रकाश तिम्सिनालाई समेत सरुवा गरेर हरेराम मेहतालाई ब्लक एकमा नाईके बनाइएको छ ।
बूढानीलकण्ठ–७, काठमाडौँ
२१७.०१ वर्गमिटर
राजीनामा लिखतमार्फत श्रीमतीको एकल स्वामित्वमा घरजग्गा खरिद
बबियाबिर्ता–३, मोरङ
४,६५५.५२ वर्गमिटर र अन्य ४ कित्ता
बैंकको लिलामी प्रक्रिया सकार गरी दाखेल खारेजमार्फत नामसारी
कटहरी–४, मोरङ
१,८२२.३७ वर्गमिटर
आवासीय प्रयोजनका लागि खरिद गरिएको जग्गा
विराटनगर–६, मोरङ
३३६.६३ वर्गमिटर
राजीनामा लिखतमार्फत खरिद
धनकुटा–५, धनकुटा
५६२.४० वर्गमिटर
व्यावसायिक प्रयोजनको जग्गा खरिद