विराटनगर । मोरंगको विराटनगर महानगरपालिका -१३ निवासी १६ वर्षीय सुभम कुमार मोची विराटनगरमा मंगलबार साँझ भएको भयानक सडक दुर्घटनाको सिकार बन्दै अहिले गोल्डेन अस्पतालको भेन्टिलेटरमा मृत्युसंग लडिरहेका छन् । मंगलबार साँझ विराटनगरमा सिटी सफारीसँग ठोक्किएर गम्भीर दुर्घटनामा परेका सुभमको अवस्था अहिले अत्यन्तै चिन्ताजनक रहेको छ।

दुर्घटनामा परी सुभमको हात र खुट्टा भाँचिएको छ भने घाँटी र मेरुदण्डमा समेत गहिरो चोट लागेको छ। घरको आर्थिक अवस्था निकै कमजोर रहेको मोची परिवारमाथि यो बज्रपातले ठूलो संकट निम्त्याएको छ। उनका बुवा हाल बेरोजगार छन् भने आमाले लेमन ट्री होटलमा सहयोगी (हेल्पर) को रूपमा सामान्य काम गरेर परिवारको गुजारा चलाउँदै आएकी थिइन्।
आमाले दिनभर होटलमा काम गरेर कमाउने थोरै रकमले घरखर्च समेत मुस्किलले चल्ने परिवारका लागि भेन्टिलेटरको महँगो उपचार खर्च जुटाउनु असम्भवप्रायः बनेको छ। सुभमको जटिल उपचार र निरन्तर भेन्टिलेटरमा राखेर उपचार गर्न ठूलो रकम आवश्यक पर्ने उनका साथि आदित्य रायले बताएका छन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि उनका साथीले सुभमको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन सबै मनकारी व्यक्ति तथा संघसंस्थासमक्ष अपिल गरेका छन्। यतिबेला सुभमलाई बचाउन परिवार र साथीभाइका लागि आर्थिक पाटो नै मुख्य चुनौती बनेको छ।