विराटनगर । शिक्षाकर्मी तथा एभरेष्ट सेकेण्डरी स्कुलका सञ्चालक टिकाराम पुरीले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धिको नारासहित देशभर अभियान सञ्चालन गर्दै आएका हिमालय मातृभूमि फाउण्डेशनका अध्यक्ष पुरीले आगामी स्थानीय तह निर्वाचनमा विराटनगरको मेयर बन्ने चाहना व्यक्त गरेका हुन्।
औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि पुरीले विराटनगरलाई आधुनिक, सुन्दर र समृद्ध महानगर बनाउने आफ्नो इच्छा रहेको बताएका छन्। दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ काम गर्न सके विराटनगरको मुहार फेर्न सकिने उनको दाबी छ।
‘विराटनगरलाई आधुनिक शहरको रूपमा विकास गर्न मन छ,’ पुरीले भने, ‘दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ अघि बढ्ने हो भने विराटनगरलाई सुन्दर र समृद्ध महानगर बनाउन सकिन्छ।’
कुनै समय नेपालकै दोस्रो ठूलो शहरका रूपमा परिचित विराटनगर अहिले अपेक्षाकृत विकास हुन नसकेको उनको बुझाइ छ। उही शैली र तौरतरिकाबाट महानगर सञ्चालन गर्दा उपलब्धि हासिल हुन नसक्ने भन्दै उनले लक्ष्य निर्धारण गरेर स्रोतको पहिचान र परिचालन गर्नुपर्नेमा जोड दिए। ‘लक्ष्यअनुसार चल्न सक्नुपर्छ, स्रोतको पहिचान र परिचालन गर्न सक्नुपर्छ, असम्भव केही छैन,’ उनले भने।
विराटनगरको ऐतिहासिक पहिचान र सम्भावनाअनुसार विकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै पुरीले महानगरको नेतृत्वमा नयाँ सोच र योजनाको आवश्यकता रहेको बताए। उनका अनुसार पहिलो वर्षदेखि पाँच वर्षसम्मकै स्पष्ट कार्ययोजना बनाएर अघि बढे विराटनगरको स्वरूप परिवर्तन गर्न सकिन्छ। ‘अब पनि हामीले नगरे कसले गर्ने ? यो कुरा महानगरवासीले बुझिसकेका छन्,’ उनले भने।
चुनाव जितेपछि मात्रै सबै कुरा पूरा भएको ठान्ने प्रवृत्तिले महानगरको विकास प्रभावित भएको उनको टिप्पणी छ। महानगरको विकासका लागि निर्वाचन जित्नु मात्र नभई स्पष्ट लक्ष्य र योजनासहित निरन्तर काम गर्नुपर्ने उनको भनाइ छ।
मेयरमा उम्मेदवारी दिने इच्छा व्यक्त गरे पनि कुन राजनीतिक दलबाट चुनाव लड्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी वा स्वतन्त्र उम्मेदवारीबारे विभिन्न अड्कलबाजी भइरहेका बेला पुरीले अहिलेसम्म कुनै दलसँग छलफल नभएको बताए। ‘अहिले कसैसँग कुरा भएको छैन, समय आउँदै जाँदा बाँकी भनौँला,’ उनले भने, ‘विराटनगरको मुहार फेर्न उम्मेदवारी दिने मन छ।’
को हुन् टिकाराम पुरी ?
वि.सं. २०२३ वैशाख १ गते संखुवासभाको खाँदबारी–७ माल्टा खिप्रिङमा जन्मिएका टिकाराम पुरी विराटनगर महानगरपालिका–५ का स्थायी बासिन्दा हुन्। बुवा पदमलाल पुरी र आमा अमृता पुरीका सन्तानका रूपमा जन्मिएका उनी एसएलसी उत्तीर्ण गरेपछि २०४२ सालमा उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका थिए।
विराटनगर आएपछि अध्ययनसँगै शिक्षण पेसा सुरु गरेका पुरीले केही समय शिक्षण गरेपछि एभरेष्ट सेकेण्डरी स्कुल सञ्चालनमा ल्याएका थिए। हाल उनी एभरेष्ट सेकेण्डरी स्कुल र एभरेष्ट कलेज सञ्चालन गर्दै आएका छन्। शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारका हिसाबले एभरेष्ट देशकै स्थापित निजी शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मा समेत पुरीले लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। २०५४ सालमा प्याब्सन मोरङको सदस्य बनेका उनी जिल्ला सचिव र अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अन्ततः केन्द्रीय अध्यक्ष बनेका थिए।
प्याब्सनको केन्द्रीय अध्यक्ष बनेर उपत्यकाबाहिरबाट पहिलोपटक संगठनको नेतृत्वमा पुग्ने व्यक्तिका रूपमा समेत उनको परिचय बनेको छ। प्याब्सनको नेतृत्वमा रहँदा निजी विद्यालयमैत्री कानुन निर्माणका लागि नीतिगत पैरवी, संगठनको व्यवस्थापन तथा पूर्वाधार विकासमा भूमिका खेलेको उनी निकट शैक्षिक क्षेत्रका व्यक्तिहरू बताउँछन्। कोभिड महामारीका समयमा निजी विद्यालयको समस्या समाधानका लागि उनले खेलेको भूमिकालाई पनि महत्वपूर्ण मानिन्छ।
प्याब्सनका नेता अर्जुन बस्नेत पुरीलाई कुशल संगठक र व्यवस्थापकका रूपमा चित्रण गर्छन्। ‘टिकाराम पुरी एक कुशल संगठक, कुशल व्यवस्थापक मात्रै नभई दृढ इच्छाशक्ति र अब्बल भिजन भएको व्यक्ति हो,’ बस्नेत भन्छन्।
राजनीतिक रूपमा नेकपा एमालेनिकट रहेर प्रदेश कमिटी सदस्यसमेत बनेका पुरीले पार्टीले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै केही समयअघि पार्टी छाडेका थिए।
शिक्षा क्षेत्रसँगै कृषि र उद्योगमा समेत लगानी विस्तार गरिरहेका पुरीले कृषि फार्म सञ्चालन गर्दै आएका छन्। मोरङमै विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योग सञ्चालनको तयारीसमेत गरिरहेका छन्। यसका लागि चिनियाँ कम्पनीसँग समझदारी (एमओयू) भइसकेको उनले बताएका छन्।
युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने धारणा राख्ने पुरी उमेर पुगेका कुनै पनि नेपाली बेरोजगार बस्न नपर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताउँछन्। यसका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको तर्क छ।