प्रेम देवान,
विराटनगर । मृत्युपछि अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरामा समेत अनियमितता र कमिसनको खेल हुन थालेको गुनासो बढेपछि विराटनगर महानगरपालिकाले दुवै श्मशान घाटमा दाउराको मूल्य निर्धारण गर्ने तयारी गरेको छ ।
विराटनगर महानगरपालिकाभित्र विराटनगर–१ स्थित परोपकार घाट र विराटनगर–७ स्थित हाटखोलाको परम विश्रान्ति स्थल गरी दुईवटा श्मशान घाट सञ्चालनमा छन् । तर, यी दुई घाटको व्यवस्थापन र सेवासुविधाको अवस्था भने आकाश–पातालको फरक देखिएको छ ।
विशेषगरी हाटखोलास्थित परम विश्रान्ति स्थलमा लामो समयदेखि दाउराको अभाव, व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण मृतकका आफन्तले सास्ती भोग्दै आएका छन् । आफन्तको शव लिएर अन्तिम संस्कारका लागि घाट पुग्दा पैसा तिर्न तयार हुँदासमेत दाउरा नपाउने, बाहिरबाट दाउरा खोजेर ल्याउनुपर्ने र कतिपय अवस्थामा अर्को घाटसम्म पुग्नुपर्ने बाध्यता रहेको छ ।

यस विषयमा सञ्चारमाध्यममा समाचार आउनुका साथै स्थानीयवासीबाट समेत चर्को गुनासो हुन थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले तत्काल चासो देखाएका छन् ।

गत शुक्रबार मात्रै उनले हाटखोलाको श्मशान घाट व्यवस्थापन समितिका पदाधिकारीलाई महानगरमा बोलाएर व्यवस्थापनमा देखिएको कमजोरीप्रति असन्तुष्टि जनाएका थिए ।


समिति सक्रिय भएर काम नगर्ने तर समस्याको दोष महानगरपालिकालाई दिने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मेयर कोइरालाले समितिका पदाधिकारीलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका थिए ।
मेयर कोइराला मात्रै होइन, सम्बन्धित वडाका जनप्रतिनिधिसमेत घाटको अवस्थाप्रति आक्रोशित छन् । विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारीले मृतकको अन्तिम संस्कारजस्तो संवेदनशील विषयमा समेत राजनीति र कमिसनको खेल हुनु दुःखद भएको भन्दै समितिलाई तत्काल व्यवस्थापन सुधार गर्न चेतावनी दिएका थिए ।
हाल शतिस दुगडको अध्यक्षतामा परम विश्रान्ति स्थलको व्यवस्थापन समिति सञ्चालनमा छ । तर, अध्यक्ष दुगड आफ्नै व्यापार व्यवसायमा बढी व्यस्त हुँदा घाटको व्यवस्थापन अस्तव्यस्त बनेको समितिकै केही पदाधिकारीले आरोप लगाउँदै आएका छन् ।
यसअघि उद्योगी तथा समाजसेवी बेनीगोपाल मुन्दडाको नेतृत्वमा समिति रहँदा घाटमा दाउरा तथा अन्य आवश्यक सामग्रीको अभाव नहुने गरेको स्थानीयको भनाइ छ । सामाजिक सञ्जालमा समेत पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिनुपर्ने आवाज उठ्न थालेको छ ।
केही दिनअघि मात्रै मृतकका आफन्त शव लिएर घाट पुगेका बेला पैसा तिर्दा पनि दाउरा नपाएपछि बाहिरबाट दाउरा खोज्नुपर्ने अवस्था आएको थियो । दाउरा नपाएपछि अर्को घाटमा लैजानुपर्ने बाध्यतासमेत सिर्जना भएको थियो । यस्तै, कहिले शवदाहपछि सरसफाइ तथा पखाल्न आवश्यक पानीको अभाव हुने त कहिले दाउरा नपाइने समस्याले परम विश्रान्ति स्थलको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
परोपकार घाटमा वर्षदिन पुग्ने दाउरा, हाटखोलामा अभावै अभाव
विराटनगर–१ स्थित परोपकार घाटको व्यवस्थापन भने हाटखोलाको तुलनामा निकै व्यवस्थित देखिएको छ । त्यहाँ दाउराको पर्याप्त मौज्दात राखिएको छ । घाटका कर्मचारीका अनुसार हरेक वर्ष पुसदेखि जेठ महिनासम्म दाउरा संकलन गरी गोदाममा भण्डारण गर्ने गरिएको छ । त्यसैले अहिलेसम्म दाउराको अभाव भोग्न नपरेको उनीहरूको भनाइ छ ।
तर, हाटखोलास्थित परम विश्रान्ति स्थलमा भने दाउरा पाउनै मुस्किल छ । दाउरा उपलब्ध भए पनि कतिपय अवस्थामा रुखका हाँगा तथा काँचो दाउरा मात्रै पाइने गरेको मृतकका आफन्तको गुनासो छ ।
एउटै महानगरपालिकाभित्र रहेका दुई श्मशान घाटको व्यवस्थापनमा देखिएको यो ठूलो अन्तरले परम विश्रान्ति स्थल व्यवस्थापन समितिको कार्यशैलीमाथि थप प्रश्न खडा गरेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै महानगरपालिकाले अब दुवै घाटमा प्रयोग हुने दाउराको मूल्य एकरूपता कायम गर्ने गरी दररेट निर्धारण गर्ने तयारी गरेको छ । यसबाट दाउरा खरिद तथा बिक्रीमा हुने भनिएको मनपरी, अनियमितता र कमिसनको सम्भावित खेल नियन्त्रण हुने महानगरको अपेक्षा छ ।

मृत्युको शोकमा रहेका परिवारले आफन्तको अन्तिम संस्कार गर्नसमेत दाउराका लागि भौतारिनुपर्ने अवस्था आफैँमा विडम्बनापूर्ण हो । घाट व्यवस्थापन समितिको जिम्मेवारी, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठिरहेका बेला महानगरले गर्न लागेको मूल्य निर्धारणको निर्णय कार्यान्वयनसँगै दुवै घाटको व्यवस्थापनमा सुधार आउँछ वा आउँदैन भन्ने चासो बढेको छ ।
आखिर, श्मशान घाट कुनै व्यापारिक कमाइको केन्द्र होइन, नगरवासीको दुःखको घडीमा सहज सेवा दिने सार्वजनिक स्थल हो । त्यसैले दाउराको मूल्य निर्धारणसँगै पर्याप्त मौज्दात, गुणस्तरीय दाउरा र व्यवस्थित सेवा सुनिश्चित गर्नु महानगर तथा सम्बन्धित समितिको मुख्य जिम्मेवारी हो ।