सुनको मूल्य घटेसँगै विराटनगरमा सुनचाँदीको व्यापारमा सुधार,व्यापारीका फरक-फरक धारणा

<span class='c1'>सुनको मूल्य घटेसँगै विराटनगरमा सुनचाँदीको</span> <span class='c2'>व्यापारमा सुधार,व्यापारीका फरक-फरक धारणा</span>

सोनु साह,
विराटनगर । विश्वबजारमा सुनको मूल्य घट्न थालेसँगै त्यसको प्रभाव विराटनगरका सुनचाँदीको कारोबार गर्ने व्यवसायीमा समेत देखिन थालेको छ । विराटनगरका व्यापारीले सुनको मूल्य घट्दा कारोबारमा सुधार देखिन थालेको बताएका छन्। पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दा निराश बनेका व्यवसायीहरू मूल्य घट्न थालेपछि केही आशावादी देखिएका छन्। यद्यपि, मूल्य अझै घट्ने अपेक्षामा ग्राहकहरू पर्ख र हेरको अवस्थामा रहेकाले कारोबारमा अपेक्षाकृत सुधार हुन नसकेको व्यापारीहरूको भनाइ छ।

विराटनगरका सुनचाँदी व्यवसायीहरूबीच पछिल्लो मूल्य गिरावटले व्यापारमा पारेको प्रभावबारे भने फरक–फरक धारणा देखिएको छ। केही व्यापारीले कारोबारमा सुधार आएको बताएका छन् भने केहीले ग्राहकहरू अझै मूल्य घट्ने आशामा बसेकाले व्यापार बढ्न नसकेको बताएका छन्।

सुनचाँदी व्यवसायी विष्णु सुनारका अनुसार सुनको मूल्य घटेसँगै व्यापारमा सुधार भइरहेको छ। मूल्यमा आएको गिरावट सकारात्मक भएको बताउँदै उनले सुनको मूल्य अझै घट्नुपर्ने धारणा राखे। त्यस्तै, व्यवसायी अशोककुमार खड्काले भने मूल्य घटे पनि व्यापारमा अपेक्षित सुधार आउन नसकेको बताए। ग्राहकहरू सुनको मूल्य अझै घट्न सक्ने आशामा रहेकाले कारोबार प्रभावित भएको उनको भनाइ छ। अहिले विवाह, व्रतबन्धलगायत अत्यावश्यक प्रयोजनका लागि मात्र ग्राहकहरू सुन किन्न आउने गरेको उनले बताए।

व्यवसायी विष्णु कट्टेलका अनुसार ग्राहकहरूमा मूल्य अझै घट्ने अपेक्षा रहेकाले कारोबार बढ्न सकेको छैन। अहिले एक–दुई जना ग्राहक मात्र पसलमा आउने गरेको उनले बताए। त्यस्तै, सुनिल अग्रवालले पनि अघिल्लो समयको तुलनामा अहिले व्यापार कम भएको बताए। सुनको मूल्य दैनिक रूपमा घटबढ भइरहँदा ग्राहकहरूमा मूल्य अझै घट्ने अपेक्षा बढेको उनको भनाइ छ।

यता, व्यवसायी कृष्ण सहनीले भने बजारको अवस्था न धेरै राम्रो न धेरै खराब रहेको बताए। कारोबार सामान्य रूपमा चलिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय सुनको बिस्कुट खोज्ने ग्राहकहरू बढी आउने गरेको जानकारी दिए। साथै, नयाँ ग्राहकहरू पनि सुन खरिदका लागि आउन थालेको उनले बताए।

व्यवसायी नेविश्का ढुंगानाका अनुसार विवाहको मौसम भएकाले ग्राहकहरूको चहलपहल बढेको छ। मूल्य घटेपछि ग्राहकहरूलाई सुनचाँदी खरिद गर्न केही सहज भएको उनले बताइन्। अहिले बजारमा काँचो सुन र काँचो चाँदीको माग बढी रहेको उनको भनाइ छ। अघिल्लो समयको तुलनामा व्यापारमा सुधार आएको पनि उनले बताइन्।

त्यस्तै, व्यवसायी अजय राठीले पनि सुनको मूल्य घटेसँगै कारोबार राम्रो भइरहेको बताए। मूल्य यही अवस्थामा कायम रहे अझै राम्रो व्यापार हुने उनको विश्वास छ। अहिले ग्राहकहरूले आफ्नो आर्थिक क्षमताअनुसार सुन खरिद गरिरहेको र कारोबारमा उत्साह देखिएको उनले जानकारी दिए।

यसैबीच, मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ६० रुपैयाँ कायम रहेको छ।

सुनको मूल्यमा आएको गिरावटले बजारमा केही चहलपहल बढाए पनि मूल्य अझै घट्ने अपेक्षाले ग्राहकहरू तत्काल ठूलो परिमाणमा सुन खरिद गर्न हिचकिचाइरहेका छन्। त्यसैले विराटनगरको सुनचाँदी बजारमा मूल्य घट्नु मात्रै पर्याप्त नभई ग्राहकको खरिद निर्णयले आगामी कारोबारको अवस्था निर्धारण गर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्