विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठ २०८३ साल कात्तिक महिनाको उत्कृष्ट प्रहरी कर्मचारी अर्थात् ‘Police of the Month’ घोषित भएका छन्।
नेपाल प्रहरीको संगठनात्मक मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेको मूल्यांकनका आधारमा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
श्रेष्ठले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रशंसापत्रअनुसार २०८३ कात्तिक २० गते विराटनगर महानगरपालिका–१२ रोडशेषस्थित विरेन्द्र होटल एण्ड लजबाट ४८.५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु एक थानलगायतका सामग्री बरामद गरी होटल सञ्चालक निक्कु सिंहलाई पक्राउ गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, जेन्जी आन्दोलनका क्रममा फरार रहेका लागुऔषध मुद्दाका प्रतिवादी तथा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएका विराटनगर महानगरपालिका–१९ निवासी ४२ वर्षीय विजयकुमार राईलाई कात्तिक २३ गते पक्राउ गरिएको थियो।
यसैगरी जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहबाट फरार रहेका प्रतिवादी तथा अन्य फरार प्रतिवादीलाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउनसमेत उनले समन्वयकारी भूमिका निर्वाह गरेको प्रशंसापत्रमा उल्लेख छ।
कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, साहस र व्यावसायिक दक्षता प्रदर्शन गर्दै शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी कारबाहीलाई प्रभावकारी बनाउन पुर्याएको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका हुन्।
नेपाल प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘Police of the Month’ सम्मानले प्रहरी कर्मचारीमा थप जिम्मेवारीबोध र सेवाप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।