राष्ट्रपति विद्यादेवी भण्डारी १ सय ६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन जेनेभा प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी आज अपरान्ह अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको हो । सम्मेलनमा राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ । जेनेभा प्रस्थान गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मासहित सरकारका उच्च पदस्थ अधिकारीले विदाई गर्नुभएको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामीसमेत अर्पण गरेको थियो ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हक, हित र श्रमबारे हासिल गरिएको उपलब्धिको विषयमा बोल्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिक गरेको उपलब्धिलाई लिएर अन्तर्राष्ट्रिय श्रम संगठनले सम्मेलनमा मुख्य वक्ताको रुपमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई निमन्त्रणा गरेको हो । सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय क्षेत्रका श्रमिकहरुले हासिल गरेका उपलब्धिका विविध पाटाका विषयमा पनि अनुभव आदानप्रदान गर्नुहुने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।