चितवन । पहिरोको उच्च जोखिम बढेपछि महत्वपूर्ण मार्ग नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने भएको छ । व्यवस्थापिका–संसद विकास समितिको निर्देशनपछि आजदेखि उक्त सडकमा राती गाडी चलाउन बन्द गर्न लागिएको जिल्ला प्रशासन कर्याालय चितवनले जनाएको छ । राति पहिरो खसेको नदेखिने भएकाले यस्तो गरिएको हो ।
दिउँसोमा पनि आवश्यक सावधानीका साथ गाडी पठाईने छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अर्काे जानकारी नआउँदासम्म हाललाई रातिमा गाडी चलाउन रोक्ने जानकारी दिए ।
नारायणगढ– मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रमा अहिले पुनर्निर्माणको काम चलिरहेको छ । जसका कारण भित्तो काटिएको क्षेत्रबाट पहिरो खस्ने क्रम तिब्र छ । असार ९ गते राति पहिरोले यहाँ ४ प्रहरीलाई बगाएपछि संसदको समेत ध्यानाकर्षण भएको थियो ।
चितवनका प्रहरी उपरिक्षक दीपक थापाका अनुसार बस, माईक्रो तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा क्षेत्रमा साँझ रोकिनेछ । ती सवारीहरुलाई साँझ ६ बजे रोकेर विहान ४ बजे छाडिने नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिए ।
पोखराबाट आउने बस र साना सवारीहरुलाई तनहुँको आँबुखैरेनीमा तथा काठमाडौंबाट आउनेलाई मुग्लिन बजारमा रोकिनेछ । ती गाडीलाई साँझ ७ बजे रोकेर विहान ५ बजे छाडिनेछ । चितवन हुँदै जाने ट्रकहरुलाई जुगेडी चौकीमा साँझ ६ बजे रोकेर विहान ४ बजे छाडिने जनाईएको छ । पोखराबाट आउने ट्रकहरुलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा र काठमाडौंबाट आउने ट्रकहरुलाई लेवाटारमा रोकी विहान ५ बजे छाडिने चितवनका प्रहरी उपरीक्षक दिपक थापाले बताए ।
यो समयमा बैकल्पिक सडक प्रयोग गरेर जानसम्ने सडकलाई जानका लागि अपिल गरिएको छ ।