शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै

<span class='c1'>शिक्षक नारायण पौडेलको मृत्युको</span> <span class='c2'>विषय रहस्यमय बन्दै</span>

फलेवास, पर्वत । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ ।
पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शव शिक्षक पौडेलको भएको पुष्टि डिएनए परीक्षण र शव परीक्षण रिपोर्टबाट भएको थियो ।
शिक्षक पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको  शव परीक्षणबाट आएपछि उनको हत्या भएको हुनसक्ने भन्दै परिवार र आफन्तले अपराधी तत्काल पत्ता लगाउन प्रहरीलाई दबाब दिँदै आएका छन् ।
घटना घटेको लामो समय भइसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै पर्वतका विभिन्न शिक्षक संगठनले पनि संयुक्त विज्ञप्ति निकालेर तत्काल अनुसन्धानलाई तीव्रता दिन प्रहरीलाई दबाब दिएका छन् ।
प्रहरीले शिक्षक पौडेलले पढाउँदै आएको आइबल एकेडेमीका प्रधानाध्यापक विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यद्यपि घटनासम्बन्धी त्यस्तो कुनै तथ्य पत्ता लगाउन नसकेको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।
“अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगिएको छ, पौडेलको मृत्यु के कारणले भएको हो ? भन्ने विषयमा अनुसन्धान अगाडि बढिरहेको छ,” प्रहरी नायब उपरीक्षक खनालले भने, “हामीले उहाँले प्रयोग गरेको मोबाइलको कल डिटेल, एसएमएस र सामाजिक सञ्जालमा गरिएका कुराकानीको अध्ययन गरिरहेका छौँ ।”
लामो समयसम्म पनि रहस्य खुल्न नसकेपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को सहयोग लिने भएको छ । अहिले मिसिलको अध्ययनमा रहेको सिआइबी मिसिल अध्ययन गरिसकेपछि पर्वत आउने डिएसपी खनालले जानकारी दिए ।
शिक्षक पौडेलको मृत्युको कारण रहस्यमय देखिएकाले सिआइबीको मद्दत लिनुपरेको उनको भनाइ छ । मृतक शिक्षक पौडेल कुश्मा नगरपालिकाअन्तर्गत कटुवाचौपारीमा रहेको आइबल एकेडेमीमा पढाउँदै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्