विराटनगर, २४ पुष । केहि समययता मोरङमा सूचना प्रविधि क्षेत्रको चहलपहल निक्कै बढेको छ । केहि महिना अघि भातिगछमा युवाहरुका लागि भएको कम्प्युटर तालिम र विराटनगरमा पहिलो पटक आयोजना भएको क्यान इन्फोटेकले तताएको माहोल सेलाउन नपाउदै विराटनगरको छिमेकी गाविस थलाहाका युवाहरुले कम्प्युटर प्रविधि तालिम आयोजना गरेका छन् । शान्ति र विकासका लागि युवा संजाल नामक युवाहरुको समुहको प्रयासमा थलाहा गाविसमा ‘युवा क्षमता विकासको लागि सूचना प्रविधि’ भन्ने मुल नाराका साथ १५ दिने कम्प्युटर तालिम आइतबार देखि सूरु भएको हो । तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति मोरङका कार्यक्रम अधिकृत महेन्द्र खड्काले यस्ता प्रकारका तालिमहरुले सूचना प्रविधिको विकासमा जोड दिने बताए । उनले यस्ता कार्यक्रम मोरङको अन्य क्षेत्रमा समेत विस्तार गरिनु पर्ने धारणा व्यक्त गरे । इस्ट आइटि कम्युनिटिको संयोजन र जिविस मोरङ, थलाहा गाविस, माइक्रो अफिस अटोमेशन, विराट इन्फोटेक, मेगाटेक, वल्र्डलिङ्क, एलिना इन्फोसिसलगायतको सहयोगमा सो तालिम सूरु भएको हो । माघ ८ गतेसम्म सञ्चालन हुने सो तालिममा थलाहा गाविसका ३५ जना युवाहरुको सहभागिता जनाइरहेका छन् ।
‘यो तालिम भातिगछ गाविसमा कात्तिक १ देखि ७ गतेसम्म आयोजना गरिएको कम्प्युटर तालिमको अभियान अन्तर्गत नै थलाहामा तालिम सुरु गरिएको हो’ इस्ट आइटि कम्युनिटिका केशव भण्डारीले बताए । उनको अनुसार यस अभियानलाई मोरङ जिल्ला भरि लगिने योजना कम्युनिटिको रहेको छ ।