चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री निर्वाचन आयोगसंग परामर्शमा

<span class='c1'>चुनावको मिति घोषणा गर्न</span> <span class='c2'>प्रधानमन्त्री निर्वाचन आयोगसंग परामर्शमा</span>

काठमाडौँ, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आयोगका पदाधिकारीले मङ्गलबार पनि भेट गरी भदौ १ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न माग गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार पुनः प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको हो । आयोगका अनुसार भेटमा प्रधानमन्त्रीबाट प्रदेशसभा तथा प्रतिनिधिसभा दुवै निर्वाचन एकै पटक गर्न सकिन्छ वा सकिँदैन भन्ने जिज्ञासा राख्नुभएको थियो ।
प्रधानमन्त्रीले मुख्य तीन दलका शीर्ष नेताहरूसँग बुधबार नै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने जानकारी आयोग पदाधिकारीलाई दिनुभएको थियो । आयोगका तर्फबाट निर्वाचनका लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्न आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभइसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुने कुरा अवगत गराइएको थियो ।
व्यवस्थापकीय हिसाबले मङ्सिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेको कुरा प्रधानमन्त्रीसमक्ष राखिएको थियो । साथै भेटमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकै पटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ आयोगमा छलफल गरिने कुरा प्रधानमन्त्री देउवालाई अवगत गराइएको थियो ।
प्रधानमन्त्रीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले भेटघाट गर्नुभएको निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
भेटमा उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो ।
आयोगले मङ्सिरको पहिलो साता निर्वाचन गर्नका लागि असारमै सरकारसमक्ष प्रस्ताव गरेको थियो । मङ्सिरको पहिलो साता निर्वाचन गर्न अब एक सय दिन पनि बाँकी छैन । आयोगले सरकारसँग निर्वाचनका पूर्व तयारीका लागि १२० दिनको समय चाहिने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्