बाढीबाट देशभर १४३ जनाको मृत्यु, ३० जना बेपत्ता

<span class='c1'>बाढीबाट देशभर १४३ जनाको</span> <span class='c2'>मृत्यु, ३० जना बेपत्ता</span>

काठमाडौं । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ ।

सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको जनाएको छ । त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४४४ घरमा आंशिक क्षति पुगेको छ ।

बाढी, पहिरो तथा डुबानबाट प्रभावित जिल्लामा तीव्र गतिमा राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत धादिङ सदरमुकामबाट हिम्दुङ रुवीभ्यालीमा एक हजार २०० किलो राहत सामग्री पठाइएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल खाद्य संस्थान थापाथलीबाट खाद्य सामग्री एवं त्रिपालसमेत गरी सशस्त्र प्रहरी बलको दुईवटा ट्रकमार्फत राहत सामग्री रौतहट र पर्साको ठोरी ९नौगाउँ० पठाइएको छ । त्यस्तै शनिबार नै हेटौँडास्थित क्षेत्रीय आपत्कालीन गोदाम घरबाट रौतहटका लागि ५५०, महोत्तरीका लागि एक हजार ७००, सुनसरीका लागि दुई हजार तथा सिरहाका लागि दुई हजार थान त्रिपाल र दुई हजार थान कम्बल पठाइएको मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट प्रभावित जिल्लामा हालसम्म ५३ हजार ४५५ थान त्रिपाल, दुई हजार ६४९ थान कम्बल, तीन हजार २३२ थान मेट्रेस, दुई हजार ६४५ थान झुल, सात हजार ३१५ सेट भाँडाकुँडा र एक लाख ४२ हजार ४९३ क्विन्टल चामल वितरण गरिएको छ ।

यस्तै पाँच हजार ४१८ किलो पिठो, १५ हजार २६७ किलो दाल, ७० हजार ४० किलो चिउरा, पाँच हजार १७७ थान कपडा, ९९ हजार ९६४ प्याकेट चाउचाउ, २५ हजार २१४ किलो भुजिया, २० हजार ४१ किलो दालमोठ, ५५ हजार ५४४ कार्टुन बिस्कुट, ३४ हजार ४५९ कार्टुन पानी, पाँच हजार ९०७ लिटर तेल, १२ हजार ७५ किलो नुन तथा दुई हजार ५९६ थान अन्य गैरखाद्य सामग्री वितरण गरिएको छ ।

बाढी, पहिरो र डुबानबाट मृत्यु भएका परिवार वा आफन्तलाई मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम प्रतिमृतक रु दुई लाख राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ । प्रकोपपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्डबमोजिम घर पूर्ण वा आंशिक रुपमा क्षति भएका परिवारलाई मापदण्डबमोजिमको राहत वितरण भइरहेको छ ।

यसैबीच सरकारको स्वीकृत मापदण्ड तथा सरकारको निर्णयबमोजिम पीडितलाई राहत सामग्री खरिद गरी वितरण गर्न, मृतकका परिवारलाई आर्थिक सहायता तथा तोकिएबमोजिम राहत उपलब्ध गराउन मन्त्रालयले प्रभावित जिल्लाका जिल्ला दैवी प्रकोप उद्धार कोषमा रु नौ करोड ८५ लाख रकम निकासासमेत गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्