काबुल । अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा ८१ जना तालिबान लडाकू मारिएका छन् ।
विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही तथा केही स्थानमा भएका भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् । अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ । नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो ।
पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ । रासस/सिन्ह्वा