बर्दिया, २४ माघ । साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार सार्वजनिक गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलाती गाउँका १७ वर्षीय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
हत्या आरोपमा पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ का २२ वर्षीय रमेश राजबंशी, १७ वर्षीय हरिनारायण दहित चौधरी र कैलालीको जानकी गाउँपालिका–६ का २० वर्षीय विकाश चौधरी रहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । हरीनायण दहित चौधरीलाई गाउँबाटै, विकाश चौधरीलाई कैलालीबाट र रमेश राजबंशीलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।