आईसीसी विश्व क्रिकेट लिग : नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

<span class='c1'>आईसीसी विश्व क्रिकेट लिग :</span> <span class='c2'>नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज (बुधबार) क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार सवा १ बजे सुरु हुनेछ ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाविरुद्धको खेल नेपालको लागि फाइनल भन्दा बढी महत्वपूर्ण रहनेछ । आइसीसी विश्वकप छनोट र उच्च श्रेणीको क्रिकेट खेल्न नेपालको लागि आजको खेल विशेष हुनेछ । जारी डिभिजन टु को शीर्ष दुई टोलीले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् । तर, नेपालको भाग्य आज हुने क्यानडासँगको खेलले निर्धारण गर्नेछ । त्यसैले क्यानडाविरुद्ध मैदान उत्रँदा नेपाल जित्नैपर्ने स्थितिमा हुनेछ ।

डिभिजन टु अन्तर्गत लिग चरणमा अब ३ खेल बाँकी छ । लिग चरणको अन्तिम तीन खेलमा नेपाल र क्यानडा, नामिबिया र युएई तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । तर, लिग चरणको अन्तिम तीन खेलमध्ये नेपाल र क्यानडा तथा नामिबिया र युएईबीचको खेल महत्वपूर्ण रहेको छ । यी चार टोलीमध्ये दुई टोली शीर्ष दुईमा पुग्दै विश्वकप छनोटमा पुग्नेछ भने दुई टोली डिभिजन टु मा यथावत रहनेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले चार खेलमा ३ खेल जित्दै ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो । तर, नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले तेस्रो खेलमा युएईलाई ४ विकेट तथा चौथो खेलमा केन्यालाई ३ विकेटले हराएको थियो ।

नेपाल लिगको तेस्रो स्थानमा छ । यता, क्यानडा चार खेलमा ६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । यस्तै आयोजक नामिबिया ६ अंक जोडेर दोस्रो स्थानमा छ । ४ अंक जोडेको युएई चौथो स्थानमा छ । पाँचौ स्थानको ओमानले २ अंक जोड्दा अंकबिहीन केन्या लिगको पुछारमा रहेको छ ।

लिग चरणको अन्तिम खेल नसकिएसम्म क्यानडा, नेपालसँगै नामिबिया र युएईको पनि शीर्ष दुईमा पुग्ने सम्भावना उतिकै रहेको छ । तर, प्रतियोगितामा क्यानडा नेट रन रेटको आधारमा नेपाल र नामिबिया भन्दा अघि रहेको छ । यस्तोमा नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन क्यानडामाथि जित निकाल्नुको विकल्प छैन ।

नेपालले क्यानडालाई हराउन सके नामिबियाले युएईलाई वा युएईले नामिबियालाई हराएपनि नेपालको शीर्ष दुई पक्का हुनेछ । तर, क्यानडासँग पराजित भए नेपाल डिभिजन टु मै सीमित रहनेछ । नेपाल क्यानडासँग पराजित भएमा नामिबिया र युएईमध्ये एक टोलीले शीर्ष दुईमा स्थान बनाउनेछ । नामिबियाले युएईलाई हराए क्यानडा र नामिबियाले फाइनलमा स्थान बनाउनेछ । तर, युएईले नामिबियालाई हराए नेट रन रेटको आधारमा फाइनलमा पुग्ने टोलीको तय हुनेछ ।

यो प्रतियोगितामा क्यानडा निकै लयमा देखिएको छ । त्यसैले क्यानडाको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । तर, ब्याटिङमा जम्न सके नेपालले क्यानडालाई हराउन खासै गाह्रो पर्दैन । जसको लागि नेपालले उच्च स्कोर बनाउनु र उच्च स्कोरको लक्ष्य पुरा गर्न सक्नुपर्छ ।

नामिवियाले सोमबार उच्च योगफल तयार गरेकै कारण क्यानडालाई हराउन सफल भएको थियो । त्यसैले नेपालले किफायती बलिङसँगै  ब्याटिङमा सुधार गर्नुपर्ने हुन्छ । जारी प्रतियोगितामा नेपालको समस्या ब्याटिङ देखिँदै आएको छ । नेपालले जितेको तीन खेलमा पनि कुनै एक दुई खेलाडीले बाहेक अन्य ब्याट्सम्यान चल्न सकेका छैनन् ।
क्यानडा र नेपालपछिल्लो समय २ पटक आमनेसामने भएका छन् । दुई खेलमध्ये क्यानडा र नेपालले समान १ – १ खेल जितेको छ । सन् २०१४ मा विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, सन् २०१५ मा नामिबियामै भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दै पहिलो भेटमा पराजित भएको बदला पनि लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्