काठमाडौं । श्रीमान् विदेशमा भएकी महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएको आरोपमा एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोट स्थायी घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य दूतावासको सेक्युरिटी गार्डमा कार्यरत कर्मचारी रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी योगेन्द्र सिंह थापाले जानकारी दिए ।
डिएसपी थापाले उनलाई १८ दिनअघि पक्राउ गरिएको र जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको बताए । प्रहरीका अनुसार अमल्दार आचार्यले विदेशमा श्रीमान् भएका महिला को कहाँ जान्छन्, कसको प्रेम सम्बन्ध कोसँग छ भन्ने पत्ता लगाई पछि कुरा खोलिदिने भन्दै ती महिलासँग यौन सम्बन्ध राख्दै आएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दुई महिलाले उजुरी दिएपछि प्रहरीले उनको पिछा गरेको थियो । प्रहरी स्रोतका अनुसार आचार्यले सुरुमा महिलाको सूचना संकलन गर्ने र महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि पिछा गर्थे ।
महिलालाई भेटेपछि आफूलाई उनीहरुको सबै गोप्य कुरा थाहा भएको र परिवारसम्म त्यो खबर पुर्याइदिने भन्दै यौन शोषण गर्दै आएका थिए । प्रहरी स्रोतका अनुसार आचार्यसँगै यस्तो कार्यमा संग्लन गिरोह नै राजधानीमा संग्लन छ । यस्तो सूचना संकलन गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।