विराटनगर, १९ चैत ।
रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडकको प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्मले अनुगमन गरेका छन् । रानीबाट सुरु भएको अनुगमनमा प्रदेशका मुख्मन्त्री शेरधन राइ, अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, वन तथा पर्यटन मन्त्री जगदिश कुसियत लगायत सहभागी थिए । रानीमा एकै पटक झण्डा हल्लाएका ४ गाडी मुख्यमन्त्री तथा मन्त्रीहरु देख्दा के हुन लागेछ भनेर सर्बसाधारण छक्क परेका थिए ।
मुख्यमन्त्री राइ आफै सडकमा ओलिएर सडकको निर्माण र गुणस्तरको अबस्थाको बारेमा जानकारी लिए । राइले विराटनगरको महेन्द्र चोकमा निर्माणधिन सडकको निरिक्षण समेत गरे । त्यसपछि प्रदेश सरकारका अरु मन्त्रीहरु सुनसरीको अहिले निर्माण भईरहेको तरहरा सम्म पुगेर फकिए । सडकलाई छिटो र गुणस्तरीय ढङगले सम्पन्न गर्नका लागि अनुगमन गरिएको प्रदेशका मुख्यमन्त्री राइले बताए ।
आर्थिक बर्ष २०६९-०७० बाट ६ लेन सडक परियोजनाको काम शुरु भएको हो । परियोजनाको काम अब ३ बर्ष भित्रमा सक्नु पर्ने बाध्यता हुन्छ । तर अहिले सम्म ३५ प्रतिशत मात्र काम सकिएको परियोजनाको दाबी छ । सडकमा रहेको पोल र एक्सटेन्सन विधुत लाईन व्यवस्थित गरि हटाउन समस्या रहेको परियोजनाले जनाएको छ ।
टेग्रा खोलको व्यवस्थापन र दुहबीको बजार क्षेत्रको ६ सय ३० मिटर सडक फराकिलो बनाउन सरकारले आवश्यक निर्णय गर्नु पर्ने लगायतका समस्या रहेको छ। दुहबीको बजारमा साविकको सडकलाई घटाएर २०५४ सालमा मन्त्री परिषदले साढे १६ मिटर मात्र कायम गरेकाले सडक फराकिलो नहुने प्राविधिकहरुको भनाई छ ।सडक विस्तार गर्दा करिब १ सय ७६ वटा घर भत्किने बताईन्छ । मन्त्री समक्ष कर्मचारीहरुले रकमको अभाव समेत भएको बताएका छन ।
सडक अनुगमन पछि इटहरीमा कर्मचारी तथा ठेकेदारलाई संक्षिप्त निर्देशन दिदै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बृहत छलफल गरेर समस्या समाधानका लागि पहल गरिने बताए ।