नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने ।
वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी । तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाएका छन् ।
२०११ साल वैशाखमा विराटनगरमा जन्मिई यहीं स्थायी बसोबास गरिरहेका लामिछानेले २०३० सालदेखि नेपाल राष्ट्र बैंकमा सेवा गरेको २०६१ मा अवकास पाएका हुन् । अभिनयका साथै फोटो ग्राफिमा पनि अभिरुची राख्ने उनी हाल अवकासपूर्ण जीवन पनि कलाकारीता मै योगदान गर्न चाहन्छन् । हाल विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा आवद्ध रहेर आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइरहेका छन् ।
वि.सं. २०२९ सालमा युवा विद्यार्थी सांस्कृतिक समितिमा हुँदैदेखि नाटकघर निर्माण गर्ने सपना थियो रे । त्यो उनको सपना पुरा गरिदिएको आरोहण गुरुकुलले । ‘एउटा हल बनाउँ भन्ने लागेको थियो, जहाँ हामी निरन्तर नाटक गर्न सकौं भनेर’–उनले सुनाए ‘त्यतिबेला सनपाटका गोदाम खाली छन् कि कसैले भाडामा लगाउँछन् कि भनेर हामी खोजी खोजी हिड्थ्यौं ।’ अहिले विराटनगरमा आरोहण गुरुकुल स्थापना भएपछि भनें त्यो पुरानो सपना साकार भए जस्तो लागेको रहेछ उनलाई ।
चलचित्र त्यति हेर्न मन नपराउने लामिछानेलाई नाटक र सांस्कृतिक कार्यक्रमले नै कलाकारीता तिर तानेको रहेछ । ‘विराटनगरको शहिद मैदान र आदर्श विद्यालय नै उनकोलागि कलाकारीतामा लाग्ने उपयुक्त प्लेटफर्म बन्यो, किनभने त्यहाँ विभिन्न प्रोग्रामहरु भइरहन्थे’– आफु अभिनय क्षेत्रमा छिरेको बेलाको स्मरण गरे उनले ‘पछि कलेज जीवनमा महेन्द्र मोरङ क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा केही साथीहरु मिलेर नाटक देखाउने योजना बन्यो ।’ त्यतिबेला उनलाई निर्देशनको अनुभवै नभए पनि नाटक हेरेकै भरमा निर्देशन पनि आफैंले गरेको नाटक सबैले मन पराएको उनले सुनाए ।
लामिछाने नाट्य क्षेत्रमा बामे सर्दै गर्दा विराटनगरमा नाट्य संस्थाहरु भर्खरै मात्र खुल्दै थिए । त्यसबेला गरेको निर्देशन र अभिनयबाट प्रभावित भएर युवा विद्यार्थी सांस्कृतिक समिति भन्ने संस्थाका उनका सार्थीहरुले उनलाई त्यसमा आबद्ध हुन आग्रह गरे । त्यसपछि उनी त्यहा आबद्ध भई विभिन्न कार्यक्रमहरुमा सहभागि हुन थालेका रहेछन् ।
कला र अभिनयकै माध्यमबाट राष्ट्रियस्तरमा नाम कमाउन सफल कलाकार लामिछानेले पूर्णाङ्की नाटक करिव एक दर्जन र एकाङ्किहरु २÷३ दर्जन जतिमा अभिनय गरीसकेका रहेछन् । त्यसैगरी छिमेकी, परिबन्द, बसाई आदि नाटकमा उनले अभिनय मात्र गरेका छन् भने अभागिको प्रेम, पुछिएको सिन्दुर, कर्मको फल, परिभाषा लगायत ७÷८ वटामा निर्देशन केही नाटक उनी आफैंले लेखेका पनि रहेछन् ।
रंगमञ्चमा भिन्दै पहिचान बनाएका लामिछाने फिल्मी क्षेत्रमा २०४३ सालतिर पहिलो पटक प्रवेश गरेका रहेछन् । ‘सुनिल थापाले पहिलो पटक नेपालमा बनाएको फिल्म सम्बन्धमा मेरो पहिलो पटक नै नेगेटिभ रोल थियो’– उनले भने ।
रंगमञ्चमा रमाएको मान्छे पहिलो पटक क्यामेरा अगाडि उभिदा त केही गाह्रो महसुस भयो रे । ‘नाटकमा त हामी स्वइच्छाले प्रस्तुति दिन्छौ, फिल्ममा भनें क्यामेराको निश्चित एरियाभन्दा बाहिर जान पाइदैन’–रंगमञ्च र फिल्म क्षेत्रको फरक छुट्याउँदै उनले भने ‘फेरी फिल्ममा टेक लिन जानु आधा घण्टा अगाडि मात्र संवाद र अभिनयका बारेमा जानकारी हुन्छ ।’ नाटकमा भनें धेरै अगाडिदेखि नै तयारी हुने उनले बताए ।
उनले अभिनय गरेको पहिलो फिल्म सम्बन्ध हो भनें त्यसपछि आफ्नो विरानो, परदेशी, संगम, अवाजमा अभिनय गरेका छन् । सम्बन्ध र परदेशीमा खल पात्रको रुपमा देखा परेका लामिछाने आफ्नो विरानोमा कमेडी रोल लिएर आए । संगममा मालीको क्यारेक्टर रोल र अवाजमा कामी बुढोको रोल जो मुख्य पात्र पनि हो । त्यसपछि भर्खरै मात्र विराटनगरमा निर्माण भएको स्नेह फिल्ममा पनि क्यारेक्टर रोल नै गरेका उनले सुनाए । आवस्यकता अनुसार जुनसुकै किसिमको अभिनय पनि गर्ने क्षमता आफुमा भएको उनले बताए । ‘कमिर्सियल खालको निर्देशन छ भने मलाई खल पात्रको रोल गर्न मन लाग्छ भनें आर्ट मुभीमा क्यारेक्टर रोल गर्छु’–उनले भने ।
अभिनय र निर्देशन दुवैमा अनुभव संगालेका लामिछानेलाई दुवै विषय उत्तिकै गाह्रो लाग्दो रहेछ भने –‘निर्देशन मा निक्कै नै गाह्रो हुन्छ ।’
पहिला पहिला रहर मेटाउनैका लागि भएपनि महिनौंसम्म तयारी गरेर टिकट पुश सेलिङ गरेर हुन्छ कि आफैं पैसा लगाएर भएपनि नाटक देखाउँने गरेको सम्झना गर्दै उनले अहिले यस क्षेत्रबाट कलाकारको आर्थिक अवस्था सुधार हुँदै गएको बताए ।
अहिले नयाँ नयाँ प्रविधिको विकास भएर डिजिटल फिल्मको पछि धेरै दर्शक लागे पनि रंगमञ्चको क्रेज दर्शकमा नहराएको उनको दावी छ । ‘यसको छुट्टै महत्व छ’–त्यस कुराको पुष्टि गर्दै उनले भने ‘नाटक घरहरु बन्ने क्रम जारी छ । धरान, दमक, हेटौंडा आदि ठाउँमा बन्ने तयारीमा छन् । नाटक दर्शकको मन छुने खालको हुनुपर्छ दर्शकको संख्या निरन्तर बढ्दै जान्छ । त्यसको उदाहरण भर्खरै मात्र यहाँ प्रदर्शन भएको कफ्र्यू नाटकमा देख्न सकियो नि ।’
अहिले पैसा दिएर कलाकार बन्नेको बिगबिगी भएको भन्दै त्यसो गर्दा राम्रो प्रतिभावान कलाकारले चान्स नपाउँने र कलाकारीता क्षेत्र नै धाराषायी बन्दै गएको उनको गुनासो छ । ‘पैसा दिएर जो खेलिरहेको छ, त्यसको त प्रतिभै हुदैन नी । विना प्रतिभाको मान्छे अनुहार देखाउन मात्र आएको हुन्छ, त्यसले कलाकारीता क्षेत्रलाई नराम्रो असर पु¥याउँछ’–यसो भनिरहँदा लामिछाने अलि भावुक देखिए ।
तीस वर्ष लामो रंगमञ्च यात्रा केही तीता मिठा अनुभवहरु अझै पनि उनको मानसपटलमा झल्झल्ती आउँदा रहेछन् । दिपक आलोकद्धारा लिखित तारा टुक्रिएर झर्दा भन्ने नाटकमा उनलाई हुक्केको रोल दिएको रहेछ । त्यो हुक्केको संवाद थिएन, उसले हुक्का लिएर आउने उभिने फेरी जाने क्यारेक्टर मात्र थियो । उनले क्यारेक्टरलाई कसरी आकर्षक बनाउने भनेर एउटा आँखालाई चिम्से बनाउन गम लगाएका रहेछन् । तर पछि खोल्ने बेलामा मेरो सबै परेला उखेलिएर गएछ ।
‘२०५४÷५५ सालतिरको कुरा हो म बक्ररेखा नामक टेलिसिरियलमा खलपात्रको अभिनय गर्थें’–उनले स्मरण गरे ‘टेलिभिजनमा प्रशासरण भइरहेको र त्यो सिरियलमा दर्शकले मन नपराएको पात्र भएकोले मलाई मान्छेहरुले चिनिहाल्थे । एक दिन धनकुटाको हिलेमा गाउँलेहरु भेला भएर मलाई झण्डै लाठी मुङ्ग्रोले हिर्काएका थिए । कान समातेर आइन्दा यस्तो खल पात्रको अभिनय गर्दिन भनेपछि मात्र उम्किन सकें ।’ सिदुवामा पनि त्यस्तो भएको थियो ।
नाटक क्षेत्रमा लागेपछि धेरै कष्टहरु पनि भोगेको र रमाइला क्षणहरु संगालेको उनले सुनाए । एकचोटी धनकुटामा नाटक लिएर जाँदा बीच बाटोबाटै भरीया सामान लिएर भागिदिएछ । ‘हामी सबैले कट्टु र गन्जि मात्र लगाएका थियौं । होटलमा पुगेर बाटोतिर धेरैबेर हेर्दा पनि भरीया आएन’– भने ‘बार्दलीबाट हेर्दै बसेको, बाहिर बजारतिर निस्कन पनि नसकिने अवस्थाको अनुभव छ ।’
लामिछानेले २०३० सालमा विवाह गरेका रहेछन् । उनका २ छोरा १ छोरी छन् ।
उनको राम्रो पक्ष भनेको राम्रो विचार राख्नु र रचनात्मक कार्य गर्नु रे । अनि नराम्रो पक्ष भनेको मापसे गर्नु रे । ‘बेलुका बेलुका जहिल्यै म मापसे गर्छु यसकै कारण घरमा पनि कहिले काहीं किचलो हुन्छ’– लामो हाँसो सहित उनले भने ।
कलाकारीता क्षेत्रमा उनलाई केही लेडिज कलाकारबाट अफर नआएको भनें हैन । ‘म उनिहरुको नाम चाहीं भन्दिन । दुई तीन जनाले हदै किसिमले अफर गरेका थिए’– युवावस्थाको स्मरण गरे ‘तर मेरो आफ्नो नेचरले गर्दा उनीहरु पछि हट्नुप¥यो ।’
लेडिजहरु कलाकार बन्नलाई सजिलो हुन्छ तर जोगिन गाह्रो हुन्छ भन्छन् । ‘केटीहरु आफू स्टेण्डमा रहन सक्यो भनें कसैले केही पनि गर्न सक्दैन’–उनको भनाई छ ‘फिल्मी क्षेत्रमा अधिकांश दुष्चरीत्रका प्रोडुसर, डाइरेक्टर र टेक्निसियनहरु छन् । तिनीहरुसंग चाहीं महिला कलाकारले एकदमै जोगिनु पर्ने छ ।’