इलाम । जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गते इलाममा हुने ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सवको लागि इलामलाई बेहुली जस्तै श्रृंगारिको छ ।
महोत्सवसम्पन्न गर्नका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ ।
महोत्सवमा १९ लाख ८५ हजार रुपैंयाको हाराहारीमा खर्च हुने र महोत्सव उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राईले गर्ने बताइएका छन् । महोत्सवको पहिलो दिन इलाम सदरमुकाममा मिनी म्याराथुन, महोत्सव उद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम सम्पन्न गर्ने तय गरिएको छ ।
यसैगरी दोस्रो दिन युवा कवि सम्मेलन, १ नं. प्रदेशस्तरीय युवा सम्मेलन, युवा परियाद् र जिल्ला युवा समितिको कार्यालयहरुबीच अनुभव आदान–प्रदान र सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।
महोत्सवको तेस्रो दिन मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवा उद्यमीबीच अनुभव आदान–प्रदान, सांस्कृतिक कार्यक्रम र समापन समारोह हुने आयोजक जिल्ला युवा समितिको कार्यालय इलामले बताएको छ ।
इलाम सदरमुकामस्थित चोक बजारमा महोत्सवका २५ वटा स्टलहरु रहने बताइएको छ । प्रदेश नं. १ का १४ वटै जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी स्टलहरु राखिने बताइएको छ । महोत्सवले इलामको पर्यटनमा बिशेष टेवा पुग्ने युवा समितिका कार्यालय अतित योङहाङले जानकारी दिए ।