ताप्लेजुङस्थित तमोर दोभान पुल निर्माणको अन्तिम चरणमा

<span class='c1'>ताप्लेजुङस्थित तमोर दोभान पुल</span> <span class='c2'>निर्माणको अन्तिम चरणमा</span>

ताप्लेजुङ, साउन २७ गते । विकास पूर्वाधारको दृष्टिले पूर्वकै समृद्धिको रूपमा हेरिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमा निर्माण हुँदै आएको मोटर गुड्ने पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन तमोर करिडोर सडक आयोजना तथा टिपताला–ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग आयोजनासँगै जिल्लाको प्रदेश स्तरीय दुई निर्वाचन क्षेत्र जोड्ने निर्माणाधीन मोटर गुड्ने पुलको कार्य हाल अन्तिम चरणमा पुगेको हो ।
सिङ्गो पुलको संरचना ट्रस्ट जडानसँगै रङ्ग–रोगनको कार्य सम्पन्न गरेर करिब अढाई साता अघिदेखि ढलानको कार्य जारी रहेको निर्माण कम्पनी कन्काई–मैनाचुली याक्थुङ्बा÷जेभी कन्स्ट्रक्सनका प्रतिनिधि पर्शुराम बिमलीले जानकारी दिनुभयो । बिमलीले ढलानको पहिलो चरणको कार्य पनि सम्पन्न भएर दोस्रो चरणको कार्य हाल भइरहेको बताउनुभयो । बिमलीका अनुसार पहिलो चरणमा ३६ सेन्टिमिटर उचाइको ढलान भएको र दोस्रो चरण अन्तर्गत आठ सेन्टिमिटरको ढलान कार्य धमाधम भइरहेको छ ।

मौसमले साथ दिएमा अब ढलानको कार्य सक्न धेरै समय नलाग्ने संलग्न मजदुरले बताएका छन् । मजदुरका अनुसार सामान्य वर्षा भएमा काम गर्न कुनै असर नहुने र ठूलो वर्षा अर्थात् दर्के पानी परेमा मात्र काममा अवरोध हुनेछ । आगामी भदौ २० गतेभित्र पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने अन्तिम पटकको समय भएकाले पनि सो समय अगावै सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी अहिले दुई दर्जनभन्दा बढी मजदुर कार्यरत रहेको कम्पनीका प्रतिनिधि बिमलीले जानकारी दिनुभयो ।
उहाँले केही दिनभित्रै पुलको दायाँ–बाँयासहित पूरै भागमा ढलाल कार्य सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार पुलको भाग ढलान गरिसकेपछि पुलको जिप रहेको एक छेउ र अर्को छेउमा करिब तीत–तीन मिटर भागमा पुनः ढलान गरिनेछ । उक्त सबै भागमा ढलानको कार्य सकेर केही रङ्गरोगन गर्ने कार्य हुने र त्यसपछि करिब एक महिना सम्ममा ढलान गरिएको भाग पूर्ण पक्की (सेट) हुने पनि उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनसहित पुल निरीक्षण गर्न पुग्नुभएका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुल निर्मणमा अत्यन्तै विलम्ब भएको भन्दै गएको जेठ २० गते तीन महिनाभित्र अर्थात् भदौ २० गतेभित्र अनिवार्य पुल सम्पन्न गर्न अन्तिम समयसीमा स्वरूप कम्पनीका प्रतिनिधिलाई लिखित कागज गराउनुभएको थियो । नियमनको एक निकायले दिएको सोही अवधिभित्र पुल निर्माण गरी सकेर उत्तर–दक्षिण लोकमार्ग योजना कार्यालयलाई बुझाउने गरी काम तीव्र भएको पनि कम्पनीका प्रतिनिधिले बताउनुभएको छ । 

प्रजिअ जिसीले त्यसबेला पुल निर्माण कार्यको नियमित अनुगमन गरी जिल्ला प्रशासन कार्यालयमा दैनिक जानकारी गराउन दोभान इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक विनोद निरौलालाई निर्देशनसमेत दिनुभएको थियो ।
पुलको नियमन गरिरहेको निकाय उत्तर–दक्षिण लोकमार्ग योजनाका डिभिजनल इन्जिनियर श्यामकुमार यादवले यसअघि निर्माण कार्यका लागि निर्माण कम्पनीले पटक–पटक म्याद थप गरे पनि पछिल्लो पटक निर्माण कार्यको गति सन्तोषजनक रहेको जानकारी दिनुभयो । हालसम्म ९० देखि ९४ प्रतिशत काम सम्पन्न भएको र ढलान कार्य सम्पन्न भइसक्दा करिब ९७ प्रतिशत काम सम्पन्न हुने यादवले बताउनुभयो ।

कुल ७५ मिटर लम्बाई र ४.२५ मिटर चौडाई रहेको मोटर गुड्ने पुल निर्माणका लागि सम्झौता भने नौ वर्षअघि २०६६ साल मङ्सिर ८ गते निर्माण कम्पनी र डिभिजन सडक कार्यालय इलामबीच भएको थियो । सुरुमा २०६९ साल जेठ ९ गते सक्नेगरी सम्झौता भएको भए पनि पुनः सो पुलका लागि निर्माण कम्पनीले पटक–पटक म्याद थप गर्दै हालसम्म निर्माणको कार्य गर्दै आइरहेको छ । पुलको निर्माण लागत भने भ्याटबाहेक १० करोड ३५ लाख ६७ हजार १५० रुपियाँ रहेको बताइएको छ ।

यता पुल निर्माण भइसकेपछि भने धनकुटा मूलघाट हुँदै हाल निर्माणाधीन तमोर करिडोर, धनकुटा–वसन्तपुर–गुफा हुँदै दोभान जोडिने मदन भण्डारी मार्ग तथा चीनको तिब्बतसँग सडक मार्ग जोडिने टिपताला–ओलाङ्चुङगोला–फुङ्लिङ उत्तर–दक्षिण लोकमार्गको सडक सम्बन्ध जोडिने हुँदा यसलाई समृद्धिको योजना मानिएको छ । त्यस्तै पुल निर्माण भइसक्दा उक्त लामो सडक मार्गसँगै ताप्लेजुङका दुई दर्जनभन्दा बढी साविक गाविसका बासिन्दासमेत प्रत्यक्ष यातायातको पहुँचमा पुग्नेछन् । (गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्