काठमाडौँ,२९ साउन । वि.सं. १९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) मा ‘बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो ।
ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो । नयाँ व्यवस्थाअनुसार कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा जन्मकैदको सजाय हुनेछ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि यही दफाअनुसार सजाय हुने ऐनमा उल्लेख छ ।