काठमाडौं, २६ भदाै । राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ । गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ । यसअघि गत महिना बोलपत्र आह्वान गरिसकेको र आगामी एक महिनाभित्र ठेक्का सम्झौता हुने विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए । भने, ‘सुरुङ मार्ग निर्माणको मुआब्जा वितरण पनि शुरू भएको छ । निर्माण कार्यको टेन्डरको निकालेको ठीक एक महिना भयो । एक महिनाभित्र टेन्डर राख्छन् र तीन चार महिनाभित्र काम शुरू हुन्छ ।’ जापानी सहयोग नियोग (जाईका)को सहयोगमा निर्माण हुने सुरुङ मार्ग २ दशमलव ४५ किलोमिटर लम्बाइको हुनेछ ।
धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुनेछ । सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण हुनेछ । नागढुंगा सुरुङ मार्ग आयोजनाका लागि जाईकाले १७ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ । श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई शुन्य दशमलव ०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्षभित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ । यो सडकका लागि नेपालमा निर्माण हुन लागेको पहिलो सुरुङ हो । (लाेकान्तर डटकम)