विराटनगर अस्पतालमा दुई शिशुको मृत्यु, किन मर्छन् शिशुहरु लापरवाही कस्काे ?

<span class='c1'>विराटनगर अस्पतालमा  दुई शिशुको मृत्यु,</span> <span class='c2'>किन मर्छन् शिशुहरु लापरवाही कस्काे ?</span>

 विराटनगर, ११ कात्तिक । विराटनगरमा रहेको बिराटनगर अस्पताल प्रा.लि.मा एकै रातमा २ शिशुको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गएराती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो ।गत बुधवार सामान्य समस्या कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका सुनसरीको देवानगंज गाउँपालिका ५ साहेबगंजका उमेश साहकी २ महिनाको छोरीको राती अस्पतालको लापरवाहीका कारण ज्यान गएको हो । बुधवार अस्पतालका डाक्टर हेम सागर रिमालले २४ घण्टा निगरानीमा राखेर अर्को दिन फिर्ता गर्ने भन्दै अस्पताल भर्ना गराएकोमा बिहिवार सुधार जस्तो देखिएपनि २४ घण्टा आमाको दुध नखुवाउन भनेपछि शुक्रवार बच्चाको रुँदा रुँदा आवाज नै गएको मृतक शिशुका बुबा उमेश साहले बताए । बच्चाको अबस्था गम्भिर हुँदा पनि अस्पतालका नर्सहरुले बच्चाको अबस्था राम्रो रहेको भन्दै डाक्टरलाई गलत जानकारी दिने र आफुहरु फेसबुक तथा फोनमा ब्यस्त हुँदा शिशुले उपचार नपाएर ज्यान गुमाएको उनको आरोप छ । ‘आमाको दुध नपाएर बच्चाको शुक्रवार देखि नै बोली बन्द भएको थियो, साहले भने, त्यही बेला उपचार नहुने भए अन्यत्र लैजान खोज्दा पनि बच्चा लग्न दिएनन्, बच्चा भेट्न जान खोज्दा पनि भित्र जानै दिएनन् । ’

शिशुको आफन्तलाई पनि भेट्न तथा अबस्थाको बारेमा पनि जानकारी लिन नदिएर नर्सहरुले लापरवाही गरेको आईसीयुमा आफ्नो बच्चा लिएर बसेका रंगेलीका अनिल यादवले आरोप लगाए । उनका अनुसार, नर्सहरुले बच्चा रोई रहँदा पनि ध्यान नदिएको, डाक्टरले फोन मार्फत जानकारी लिँदा पनि केही वास्ता नगरेको कारण शिशुको मृत्यु भएको हो । डाक्टरको निगरानीमा राख्ने भनेर अस्पताल ल्यायो तर तिनै भित्रका नर्सहरुले लापरवाही गर्दा त्यसै शिशुको मृत्यु भएको उनको आरोप छ । उनको पनि शिशु अहिले बिराट नर्सिङहोम (बिराटनगर अस्पताल प्रा.लि)मा उपचारको क्रममा रहेको उनले सुनाए । त्यस्तै गएराती नै अर्को शिशुको पनि ज्यान गएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरका भुमिका सरदारको शिशुको मृत्यु भएको हो । गत शुक्रवार बिहान शम्भुनाथ मै रहेको स्वास्थ्य चौकीमा नर्मल बच्चा जन्मिएको भएपनि त्यहाका स्वास्थ्यकर्मीले बच्चाको श्वास–प्रश्वासमा समस्या भएकोले अन्यत्र लैजान सुझाव दिएपछि उनीहरुले सोही दिन अस्पतालमा ल्याएका थिए । शुक्रवार बिहान जन्मिएको बच्चालाई राती १० बजे अस्पताल भर्ना गरिएकोमा सिधै आईसीयुमा राखिएको र राती मृत्यु भएको मृतक शिशुका बुबा दिपेन्द्र सरदारले बताए । भित्र जान खोज्दा बच्चाको अबस्थाको बारेमा कुनै जानकारी नै लिन नदिई मरेको भन्दै लैजान भनेकोले अस्पतालको लापरवाही भएको उनको आरोप छ । बालबालिका सम्बन्धि हेर्ने डाक्टरले चासो नदिने अनी नर्सहरुले आफु अनुकुलको काम गर्दा शिशुहरुको मृत्यु भएको मृतकका आफन्तको भनाई छ ।

डाक्टर यस्तो भन्छन्-

अस्पतालका डाक्टर हेमसागर रिमालले शिशुको मृत्यु हुनुको कारण दुबै घटना फरक फरक प्रकृतिको रहेको बताएका छन् । रिमालका अनुसार, साहको शिशुलाई बचाउन हरसम्भव प्रयास गर्दा पनि सकिएन । शिशुमा सिजियर निमोनियाँ भएको कारण समस्या भएको हो । ‘मैले मेरो तर्फबाट एक ईन्च पनि लापरवाही गरेको छैन, उनी भन्छन्, राती १२ बजेपनि आएर हेरेको छु, बिहान पनि हेरेको हो बच्चाको अबस्थाको बारेमा पुरै जानकारी दिएकै हो त्यसमा उहाँहरुले मन दुखाउनु पर्ने कारण छैन ।’ स्वभाबिक रुपमा आफ्नो शिशु मर्दा सबैलाई पिडा हुन्छ, मेरो पनि उमेश साह जी साथि हो मैले उहाँको शिशुलाई बचाउन नसक्दा मलाई पनि पिडा भएको उनले बताए । उनले भने, ‘बचाउनै नसकिने बिरामी भएकोले कसैको केही लागेन । दुध चुसाउन नदिनुको कारण भनेको बच्चालाइ निमोनियाँ भएको बेलामा दुध चुसाउन दिनु नहुने भन्ने नै हो । बच्चालाई निमोनियाँ भएको बेला दुध चुसाउँदा सर्काउने भएकोले बच्चालाई दुध चुसाउन नदिएको हो । यो यहाँ मात्र पनि हैन सबैतिर हुने नै यही हो ।’

उता सप्तरीको बच्चाको मृत्यु हुनुको कारण भनेको बच्चा जन्मिएपछि फोहोर खाएको कारणले मृत्यु भएको बताएका छन् । बच्चा अस्पताल आउँदा नै सिरियस आएको थियो, ल्याउने बितिकै तुरुन्तै भेन्टीलेटरमा हालेर उपचार शुरु गरिएको उनले सुनाए । बच्चाले फोहोर खाएको कारण फोक्सो सेतो भईसकेकोले शिशुको मृत्यु भएको डा.रिमालले बताए । बच्चा जन्मिएपछि फोहोर खानेकुरा त्यहाँ भएका चिकित्सकमा भर पर्ने भएकोले तत्काल आईसीयु तथा एनआईसीयु नपाउँदा बच्चाको बाँच्ने संभावना कम हुने भएकोले अस्पताल ल्याउँदा नै ढिला भएको उनको भनाई छ । तर पनि उपचारको लागि सक्दो प्रयास गरिएको उनले बताए । फोहोर खाएको बच्चा असर तत्काल नदेखिने र २४ घण्टापछि अझ खराव गर्ने उनको भनाई छ । तर उनले शिशु मृत्युको बिषयमा नर्सहरु माथि लागेको आरोपको बारेमा तत्काल के भएको हो भन्ने बारेमा सोधपुछ शुरु गरिने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्