विराटनगर, २८ कात्तिक ।
विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) को आयोजना हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो मंसिर १ गते शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो । मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचना वाचन गर्ने कार्यक्रमका संयोजक जफर अहमद जमालीले जानकारी दिए ।
नेपाल भारतबीच धार्मिक तथा साँस्कृतिक एकतालाई बलियो बनाउने उद्देश्यका साथ आयोजना गरिने उक्त कार्यक्रममा राष्ट्रिय एकता र नैतिकवान समाज निर्माण गर्ने किसिमका प्रस्तुतिहरु रहने जनाइएको छ ।
स्थानीय भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि आयोजना हुने कार्यक्रममा भारतका चर्चित कवियत्री चाँदनी शवनम, भिवा शुक्ला, कविहरु अकमल बलरामपुरी लगायतले कविता वाचन गर्नेछन् । नेपालबाट सीमा आभास, माया मितु, इम्तियाज वफा, विवस पोखरेल लगायतले नेपाली राष्ट्रियता झल्किने कविताहरु प्रस्तुत गर्ने जनाइएको छ ।
त्यसैगरी मैथिली भाषामा प्रविणनारायण चौधरीले कविता प्रस्तुत गर्ने छन् । कार्यक्रम संयोजक जमालीले यो कार्यक्रमले नेपाल–भारतबीच असमझदारी हटाउनुको साथै आपसी भाइचारामा वृद्धि हुने र दुवै देशका संस्कृतिको बारेमा नेपाल र भारतका स्थानीयले बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।