विराटनगर । विजया दशमीको अवसरमा सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरले ‘दशैं कप २०८३’ इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रतिनिधि अफताब अलिका अनुसार प्रतियोगिता असोज २७ र २८ गते विराटनगरस्थित जेनियल फुटसल (भीआईपी रोड) मा सञ्चालन हुनेछ। प्रतियोगितामा १२ टिम सहभागी हुनेछन्।

आपसी भाइचारा, सद्भाव र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले चार हजार एक सय रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ।
प्रतियोगिताका विजेताले २१ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब एक लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। स्थानीय क्रिकेट प्रतिभालाई अवसर प्रदान गर्दै युवालाई सकारात्मक गतिविधिमा जोड्ने लक्ष्य रहेको अलिले बताए।