काठमाडौं मङ्सिर ६ । कञ्चनपुरकी किशोरी निर्मलाको पन्तको बलात्कार पछि हत्याको विरुद्धमा दोषीलाई कारवाही र न्याय प्राप्तिको माग गर्दै परिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको बिहीबार १२ दिन भएको छ । चिसोका कारण निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था नाजुक भएको छ भने आमा दुर्गादेवीपनि बिरामी रहेको निर्मलाकी कान्छी आमा लक्ष्मीले विहीबार बिहान जानकारी दिइन् ।
यज्ञराजले पनि यति लामो समयसम्म पनि न्याय नपाएको भन्दै आफूहरु न्याय नपाउन्जेल धर्नामा बस्ने जनाएका छन् । उनी त्यसो भनिरहँदा एकदमै विक्षिप्त भएर बोल्न नसकेपछि कान्छी आमाले फोनमा कुरा गरेकी थिइन् । उनले बाबु यज्ञराज कतैबाट पनि कुनै सुनुवाई नभएपछि साह्रै चिन्तित भएको कान्छी आमाले जनाइन् ।
यसैबीच, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बुधबार धर्नास्थलमा गएर गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने बताएका थिए । उनले गृहमन्त्री अपराधीलाई जोगाउन लागेको समेत बताएका थिए ।साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मलाको भोलिपल्ट स्थानीय उखुबारीमा शव भेटिएको थियो । (बारखरी)