विराटनगर, ८ मंसिर ।
धनकुटामा पहिलो पटक एभोकाडो महोत्सव शुरु भएको छ । विश्वको दोश्रो र दक्षिण एसियाकै पहिलो एभोकाडो महोत्सव धनकुटामा शुरु भएको हो । एक नम्बर प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले महोत्सवको उद्घाटन पछिकाे फाेटाे सार्वजनिक गर्दै आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘विश्वको दोस्रो एसियाको पहिलो एभोकाडो महोत्सव कार्यक्रम आज धनकुटामा ।’ कार्यक्रमका प्रमुख अतिथीमा प्रतिनिधि सभा सांसद राजेन्द्र राई थिए । धनकुटालाई एभोकाडोको राजधानी बनाउने योजना अनुसार महोत्सवको आयोजना गरिएको हो । सोही अवसरमा एभोकाडो स्तम्भको समेत उद्घाटन गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न भएको एक दिने महोत्सवमा नगरक्षेत्रको किसानका २० वटा एभोकाडोका स्टलहरु रहेको धनकुटा नगरपालिकाले जनाएको छ ।