कञ्चनपुर ९ मङ्सिर । मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बनेका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उनलाई शनिबार राति गाडीबाटै काठमाडौं पठाइएको हो ।
यज्ञराजको गतिविधिका कारण विमानस्थल कार्यालयले उहाँलाई विमानमा लैजान अस्वीकार गरेपछि राति नै गाडीबाट पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले बताए । उनलेे विमानबाट काठमाण्डौ लैजान सम्भव नदेखिएपछि राती सेती अञ्चल अस्पतालमा जाँच गरी प्रहरी र चिकित्सकको सुरक्षाकाबीच गाडीबाट काठमाडौं पठाइएको जानकारी दिए । ‘गाडीलाई तोडफोड गर्ने मान्छेलाई हान्नेजस्ता उहाँका गतिविधिले गर्दा विमानमा लैजान सम्भव देखिएन’ प्रहरी प्रमुख कडायतले भने ‘त्यसैले सेती अस्पतालमा सामान्य जाँच गरेपछि राति साढे १० बजे तिर प्रहरी र एकजना चिकित्सकसहित गाडीमा पठाएका छौँ ।’
छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन अगाडी धर्नामा बस्दै अाएका उनकाे मानसिक अवस्था नाजुक बनेपछि उपचारका लागि काठमाडौं लाने तयारी भएको थियो । तर, महेन्द्रनगरबाट धनगढीसम्म लैजाने क्रममा उनले गाडी तथा विमानस्थलमा देखाएको गतिविधिका कारण विमानबाटै लैजान समस्या भएको हो ।