बिराटनगर मङ्सिर १२ ,
कारखाना बिराटनगरको आयोजनामा बिराटनगरमा भबिष्य स्टिम च्यालेन्ज हुने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु बिराटनगर र आसपासका स्कुलका बिद्यार्थीबीच गराइने छ । सरकारी तथा निजि बिद्यालय दुबैले यसमा भाग लिन पाउने जनाईएको छ ।
यहिँ पौष ९ गते बिराटनगरको ठुलोमिल छेउमा रहेको सफल ब्यान्कुएटमा उक्त कार्यक्रम आयोजना गरिने कारखाना बिराटनगरका आयोजक ऋषभ आचार्यले जानकारी दिए । निजि स्कुललाई २५ सय रुपैया र सरकारी स्कुललाई निशुल्क फि राखिएको आचार्यले बताए ।
के हो कारखाना ?
काठमाडौंको ज्ञानेश्वरमा पाँच जना युवाले पछिल्लो पाँच वर्षदेखि 'कारखाना प्रालि' सञ्चालन गरेका छन् । कारखाना प्रालिले आफ्नो संस्थालाई शैक्षिक संस्थाको रूपमा चिनाउने गर्दछ । कारखानाले ८ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई चारवटा सीप सिर्जनशीलता, सञ्चार, सहयोग, फरक सोच सिकाउनेछ ।
कारखाना भित्र र बाहिर गरेर अहिले तीन हजार विद्यार्थीलाई यस्तो क्लास दिइएको छ। स्कुलहरूमा सातामा एक दिनको हिसाब वार्षिक कार्यक्रम सञ्चालन गर्छन् भने कारखानामा आएर पढ्ने विद्यार्थीलाई तीन महिने कोर्समा छ। स्कुलबाट वार्षिक एक विद्यार्थीबराबर आठ हजार रुपैयाँ लिन्छन् भने कारखानामा तीन महिनाको कोर्सको सात हजार लिने गरेका छन् ।