विराटनगर, १९ मंसिर ।
प्रदेश १ मा योजना आयोग गठन भएको एक महिना ५ दिन पछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ । प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल, पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ खुवाएका हुन् ।
सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुनौती र अवसरको बिचमा जिम्मेवारी दिईएको बताए । उनले अहिलेको आबस्यकता र चाहनाका आधारमा जनताको भावना अनुसार काम गर्नको लागि जनताले निर्वाचित गरेर पठाएको भन्दै मुख्यमन्त्री राईले प्रदेश १ मा विकासको नौलो खाका तयार गरी तत्कालिन र दिर्घकालिन योजना निर्माण गर्न आयोग सक्षम हुनेमा आफु विश्वस्त रहेको बताए । संघीयताको मर्मलाई हृदयङ्मन गर्दै संभावनाको जगमा उभिएर प्रदेशलाई तत्काल सजाउने र सुन्दर बनाउने कामको शुरुवात प्रदेश १ ले गर्ने बेला आएको मुख्यमन्त्री राईले बताए । यस अघि धेरै ठुला ठुला भाषण गरी सकिए अब जनताको चाहना अनुसारको कामको खाँचो रहेकोले अब जनताले भाषण नपत्याउने सुनाए । ‘अब काम गरेर देखाउने हो, मुख्यमन्त्री राईले भने, ‘स्पष्ट विकासको मोडल, ढाँचा तयार पर्दै पुराना योजनाका खाकालाई तोडेर अब नयाँ खाका बनाएर अगाडी बढ्न योजना आयोगले भुमिका खेल्नेछ ।’
प्रदेश सरकारले घोषणा गरे अनुसारको प्रतिबद्धताको आधारमा कामहरु गरिरहेकोले अलमल नगरेको भन्दै राईले अब प्रदेशहरु बिच हुने विकासका होडवाजीमा प्रदेश १लाई पहिलो बनाउन सबै लागि पर्न राईले आग्रह गरे ।
सपथग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पहिलाको योजनाका कारण विकासका कामहरु दुश्चक्रमा फँसेको बताउँदै अब नयाँ योजनाका साथ प्रदेश १लाई आत्मनिर्भर बनाउने दावी गरेका छन् । उनले पहिला आउने योजनाहरु सरकारले बजेट ल्याउने, कर्मचारीले टेण्डर लगाउने र ठेकेदारले विकास गर्ने खालको भएको कारण कुनैपनि काम हुन नसकेको बताउँदै अब त्यस्ता योजनाले काम नगर्ने भन्दै नयाँ योजना अघि सारिने स्पष्ट पारे । प्रदेश १ लाई अबको ३ बर्षमा मध्यमकालमा एउटा सम्भावना भएको प्रदेशको रुपमा विकास गरिने ठोकुवा गरे । उनले भने, ‘हाम्रा योजनाले जनतालाई आत्मानिर्भर गरोस्, रोजगारीको सिर्जना भएको होस् भन्नेमा हामी केन्द्रीत हुन्छौ ।’
गत कात्तिक १४ गते बसेको मन्त्री परिषदको बैठकले प्रदेश १ योजना आयोगको उपाध्यक्षमा प्याकुरेललाई नियुक्त गरेको थियो भने सदस्यमा थप २ जना भण्डारी र लक्समलाई नियुक्त गरेको हो ।
यी ब्यक्ति आयोगमा
सप्तरी जिल्लामा जन्मेर विराटनगर बसाईँ सरेर आएका प्याकुरेल इन्सेकका केन्द्रीय अध्यक्ष हुन् । त्यस्तै मोरङको इटहरा स्थायी घर भएकी भण्डारी काठमाडौंमा बस्दै आएकी थिइन् । यसैगरी अर्का सदस्य लक्सम पाँचथर जिल्लाका हुन् । अर्थशास्त्र विषयमा विद्यावारीधि उनी हङकङ, लण्डन लगायतका देशमा समेत काम गरी सकेका छन् । पछिल्लो समय उनी काठमाडौं नै बस्दै आएका थिए । प्रदेश योजना आयोग पाँच सदस्य रहने छ । बाँकी २ जना सदस्य नियुक्त गर्न बाकी रहेको छ । ( प्रस्तुती : सुमन सुस्केरा)