विष्णुप्रसाद पोखरेल
दमक, पुस ८ गते । झापाका तीन जना विद्यार्थीले वातावरणमैत्री उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन् । झापाको दमकमा व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले करिब एक करोड रुपियाँको लगानीमा वातवरणमैत्री फेब्रिक झोला उद्योग सञ्चालनमा ल्याएका हुन् ।
स्थानीय आस्था कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थी प्रकाश शाह, प्रदीप अग्रवाल र अमित शर्माले आपूmहरू भविष्यमा उद्योगी व्यवसायी बन्ने उद्देश्य राखेर यो उद्योग स्थापना गरेको बताउनुभयो ।
उहाँहरूले विभिन्न आकार र प्रकारका वातवरणमैत्री झोला उत्पादनका लागि स्वचालित मेसिन भियाएको जनाउनुभयो ।
‘नन वोभेन ब्याग मेकिङ मेसिन’ बाट उत्पादन शुरु गरेको सञ्चालक प्रकाश शाहले बताउनुभयो । सिद्धकाली ब्याग्स प्रालिको नाममा आफूसहित तीन जना मिलेर यसैसाता उत्पादन शुरु गरिएको उहाँले जनाउनुभयो ।
दमक–८ मा स्थापना भएको उद्योगले दस प्रकारका वातवरणमैत्री झोला उत्पादन हुने बताइएको छ । आफूहरूले बजारको मागअनुसार उत्पादन गर्न सक्नेसमेत शाहले बताउनुभयो । हाम्रो उद्योगको क्षमता दैनिक एक टन रहेको छ, शाहले भन्नुभयो । प्रतिघण्टा ९० केजीभन्दा बढी झोला उत्पादन हुँदैआएको जनाइएको छ ।
लगानी गर्ने अर्का विद्यार्थी प्रदीप अग्रवालले पढाइसँगै व्यावसायिक बन्न आफूहरू मिलेर यो उद्योग खोलेको बताउनुभयो । मेसिनलाई मात्र ८० लाख रुपियाँ परेको उहाँले बताउनुभयो । सबै स्थानीय तहले प्लास्टिमुक्त नगर बनाउने घोषणा गरेकाले आफूहरूले यो उद्योग सञ्चालनमा ल्याएका हाँै तर कार्यान्वयन नहुँदा भने समस्या भएको छ, उहाँले भन्नुभयो ।
अर्का लगानीकर्ता अमित शर्माले स्थानीय सम्भवाना देखेर नै उद्योग सञ्चालनमा ल्याएको जनाउँदै अहिले पनि प्लास्टिकको झोला नै बोक्ने प्रचलन रहेकाले यसलाई हटाउन सबैभन्दा पहिला सचेतना हुनुपर्ने बताउनुभयो । वातावरणमैत्री झोला उत्पादनसँगै यसको प्रयोगको फाइदासमेत हामी बजारमा गएर बुझाउने प्रयत्नमा छौँ, उहाँले भन्नुभयो ।
झापाको दमकलाई पनि सात वर्षअघि नै प्लास्टिकमुक्त नगर घोषणा गरिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । अहिले पनि बजारमा खुलमखुला प्लास्टिकको प्रयोग भइरहेको छ । सस्तो र हलुका हुने भएकाले प्लास्टिकको झोला प्रयोग हुने गरेको बताइन्छ ।