विराटनगर, २३ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जोखिम नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै प्रभावकारी कदम चाल्ने बताएका छन् । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयद्वारा सोमबार आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ः प्रदेश र प्राथमिकता विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले विपद ब्यवस्थापनको क्षेत्रमा दिर्घकालिन योजना बनाएर अघि बढ्ने बताएका हुन् ।
मुख्यमन्त्री राईले स्थानीय तह, सामाजिक संघ संस्था, सुरक्षा निकायहरु र संचारकर्मीले विपद् व्यवस्थापन र जोखिम नियन्त्रणको लागि अभियान चलाउनु पर्नेमा जोड दिए । विकास निर्माणको काम गरिरहँदा वस्ती बसाउने, सहर निर्माण गर्दा जोखिमको क्षेत्र पहिचान गरी अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपद् आउनु भन्दा अघि नै आवश्यक तयारी गर्नुपर्ने बताए । प्रदेश सरकारले आवश्यक नीति कार्यक्रम बनाएर पूर्व तयारीको रुपमा काम गरे भैपरि आउने विपद् व्यवस्थापनको काममा सरकारको अनावश्यक खर्च कम हुने स्पष्ट पारे ।
१ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राहत वितरणको नाममा हुने अनावश्यक प्रचारबाजीलाई नियन्त्रण गर्दै एकद्वार प्रणालीबाट राहत वितरणको व्यवस्था मिलाउन सबैको साथ उतिकै हुनेमा जोड दिए । कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्थानीय तहका जनप्रतिनिधिहरू, जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । प्रदेशस्तरीय विपद् जोखिम न्युनीकर तथा व्यवस्थापनका लागि विपद् उत्थानशील प्रदेश नीति, विपद् जोखिम व्यवस्थापन प्रादेशिक रणनीतिक कार्ययोजना प्रादेशीक आपतकालिन प्रतिकार्य ढाँचा र विकास प्रक्रियामा सम्भावित विपद् जोखिम प्रभाव मूल्यांकन आवश्यकता र औचित्य सम्बन्धी छलफल गरिएको थियो ।