इलाम, २५ पुस । इलामका सरकारी चीज उत्पादन केन्द्र बन्द हुने अवस्थामा पुगेका छन् । जिल्लामा दुग्ध विकास संस्थान अन्तर्गतका चारओटा चीज उत्पादन केन्द्रमध्ये तीनओटाको उत्पादन खस्किएको छ । क्षमता अनुसार दूध संकलन नभएको तथा बजारमा चीजको माग घटेकाले यी उद्योग संकटमा परेका हुन् ।
पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल दैनिक डेढ सय लिटर दूध मात्र संकलन हुने गरेको छ । केन्द्रको दूध संकलन क्षमता ३ हजार लिटर छ । निजी डेरी तथा चीज उत्पादन केन्द्रले बढी मूल्य दिन थालेपछि दूध संकलन घटेको केन्द्रका प्रमुख मनीष थापाले बताए । ‘संस्थानले तोकेको मूल्यमा दुध खरीद गर्नुपरेकाले चीज उत्पादन केन्द्रमा कम मात्रामा दूध आउने गरेको छ,’ उनले भने । केन्द्रले ८ एसएनएफ र तीन फ्याटको मात्रा भएको दूध प्रतिलिटर ४१ रुपैयाँ ४६ पैसामा खरीद गर्ने गरेको छ ।
केन्द्रकै कर्मचारी सन्तोष तामाङले भने चीजको बजार नभएकाले दूध कम मात्रामा संकलन गरिएको बताए । ‘चीज उत्पादन केन्द्रमा दूधको कमी भएमा आफ्नै चिस्यान केन्द्रबाट ल्याएर भए पनि चीज बनाउन सकिन्छ,’ उनले भने । भूकम्पपछि सुधारिएको चीजको बजार पुनः खस्किएको उनको भनाइ छ ।
केन्द्रमा विगतमा १७ कर्मचारी रहेकोमा हाल दुई जनाले चीज उत्पादन गरिरहेका छन् । यहाँ दैनिक १५ किलो मात्र चीज उत्पादन हुने गरेको छ । चीज उत्पादन घटेसँगै २०५३ सालमा स्थापित यो केन्द्र संकटमा परेको छ । कुनैबेला यो इलामकै ठूलो चीज उत्पादन केन्द्रको रहेको थियो । पशुपतिनगरसँगै जिल्लाका रक्से, देउराली र नयाँबजार चीज उत्पादन केन्द्रमध्ये नयाँबजारको उद्योग बन्द भएको छ ।