इलाम, २५ पुस । बुधबारसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. केसी दोस्रो पटक इलाम पुगेका छन्। डा. केसीको माग सरकारले सम्बोधन नगरे बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने बताइएको छ । तर इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्नेबारेमा भने स्पष्ट भइनसकेको उनले बताए । गएको साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर त्यो विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा उनी दोस्रोपटक इलाम पुगेका हुन् ।
सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्झौता भएको थियो । यस्तै, सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना खोल्नेलगायतका माग डा. केसीको रहेका छन् ।
गएको पुस १५ गते मंगलबार इलाम आइपुग्नु भएका डा. केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गरेका थिए ।