तेह्रथुम । तेह्रथुममा दुई वर्षयता सुन्तलाका बोट सुक्न थालेका छन् । जसका कारण सुन्तला बेचेरै जीविकोपार्जन गर्दै आएका कृषक मारमा परेका छन् ।
कुनै समय तेह्रथुममा उत्पादित सुन्तला रसिलो हुनुका साथै स्वादिलो भएकै कारण बोटमै सुन्तला किन्ने व्यापारीको लस्कर लाग्दे गर्दथ्यो । तर, केही वर्ष यता सुन्तलाका बोट सुक्न थालेपछि कृषक समस्यामा परेका छन् । विगतका वर्षमा सुन्तला अत्यधिक फल्ने भएकाले अरु पेसामा नलागेर सुन्तलाबाटै आम्दानी गर्दै आएका कृषकलाई बोट सुक्न थालेपछि गुजारा गर्न नै धौधौ हुने गरेको छ ।
हाल तेह्रथुममा साना तथा मझौला आकारका सुन्तला फलेका छन् भने अधिकांश बोट मरेका छन् । तत्कालिन जिल्ला कृषि विकास कार्यालयबाट ल्याएर रोपेको सुन्तलाको विरुवा तीन/चार वर्ष फले पछि पात पहिलो हुदै बोट मर्न थालेको कृषकको गुनासो छ । उन्नत जातको बेर्नाको अभाव, सिंचाइको कमी, माटोमा संक्रमण आदिका कारण बोट मर्न थालेपछि उत्पादन घटेको भन्दै माटो परीक्षण गरी भूगोल अनुसारकोे सुन्तलाको जात रोप्न सरकारले राहत दिनुपर्ने कृषकको माग छ ।
जिल्लाका सबै स्थानीय तहमा सुन्तला खेती हुने भए पनि फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ्ग नगरपालिकाको साव्ला, पिप्ले तथा छथर गाउँपालिकाको फाक्चामारा लगायतका स्थानमा गुणस्तरीय सुन्तला उत्पादन हुँदै आएको छ ।