पूर्वमा अदुवाको भाउ तेब्बरले वृद्धि , किसानको राम्रो आम्दानी

<span class='c1'>पूर्वमा अदुवाको भाउ तेब्बरले वृद्धि</span> <span class='c2'>, किसानको राम्रो आम्दानी</span>

नारायण तुम्बापो

फिदिम, माघ १७ गते । पूर्वमा अदुवाको भाउ तेब्बरले वृद्धि भएको छ । गत वर्षभन्दा तेब्बर नै भाउ बढेपछि यसपालि पाँचथरका किसानले अदुवाबाट धेरै राम्रो आम्दानी गरेका छन् । पोहोर प्रतिमन (४० किलो)को आठ सय रुपियाँका दरले अदुवा बिकेकोमा यो साल किसानले तीन हजार रुपियाँसम्म हात पारेका छन् ।  भारतमा निर्वाध रूपमा अदुवा बिक्न थालेपछि अदुवाले राम्रो भाउ पाएको राष्ट्रि«य कृषक महासङ्घ पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताउनुभयो । गत साउनमा नेपाल–भारतबीच भएको व्यापार सम्झौतामा अदुवाको क्वारेन्टाइन हटाउने निर्णय भएसँगै नेपाली अदुवाले भारतमा सहज बजार पाएको छ ।

यसपछि बिनाजाँच भारतमा अदुवा बिक्न थाल्दा भाउ बढेको बताइएको छ । ताप्लेजुङ, पाँचथर, इलाममा फल्ने अदुवाले निकासीका लागि झापाको काँकडभिट्टा नाकामा भारततर्फको क्वारेन्टाइनमा धेरै अवरोध भोग्नु पथ्र्यो । यहाँ अदुवा बोक्ने प्रतिट्रकले २५ हजार रुपियाँसम्म तिर्नु पथ्र्यो । कहिले विभिन्न बहानामा लामो समयसम्म नाकामै रोकिनु पथ्र्यो । यसले गर्दा विगतमा किसानले अदुवाबाट राम्रो आम्दानी पाउन सकेका थिएनन् ।

अब भने बिनाव्यवधान राम्रो दाममा अदुवा बेच्न पाइनेमा आफूहरू आशावादी बनेको फिदिम–११ नागिनका नरेन्द्र अधिकारीले बताउनुभयो । पूर्वी पहाडमा उत्पादन हुने अदुवाको मुख्य बजार भारत हो । यस क्षेत्रमा फलाइने ६० प्रतिशत अदुवा भारत पठाउनुपर्ने बाध्यता छ । भारतीय व्यवधानले बजार सुनिश्चित नहुँदा धेरै किसानले अदुवा खेती घटाएका थिए । यसका कारण यसपालि उत्पादन घट्नाले पनि भाउ बढेको जनाइएको छ ।

यस वर्ष पोहोरको तुलनामा ३० प्रतिशतले अदुवा घटेको फिदिमका व्यापारी सूर्य मगरले बताउनुभयो । सोच्दै नसोचेको तेब्बर बढी भाउ आउँदा पाँचथरका धेरै किसान आश्चर्यमा परेका छन् । लुङरुपा टिमुरेका लोकनाथ दुलालले यस वर्ष अदुवा खेती घटाउने किसान राम्रो दाम आउँदा पछुताएका सुनाउनुभयो । विगतमा चरम घाटा खपेर अदुवा रोप्नै छाडेका किसान राम्रो दाम आउँदा पुनः यही खेतीमा फर्कने तरखरमा छन् । राम्रो दामले अदुवा खेतीमा किसानलाई उत्साहित गराउँदा यसको व्यापार पनि टिक्ने अवस्था बढेको छ । यसले आफूहरूलाई पनि उत्साहित बनाएको फिदिमकै अर्का व्यापारी पारस अधिकारीले सुनाउनुभयो ।

यस वर्ष पाँचथरका किसानले माउ अदुवाबाट पनि राम्रो भाउ पाएका थिए । पोहोर माउ अदुवा सरदर प्रतिकिलो २५ रुपियाँमा बिकेकोमा यो साल ७५ रुपियाँसम्ममा बिक्री भयो ।
पाँचथरमा २०५९÷६० सालदेखि अदुवा खेती शुरु भएको हो । अदुवाले २०६७÷६८ मा धेरै मूल्य दिन थाल्दा यसको खेतीले व्यापकता पाउन थालेको हो । पाँचथरमा वार्षिक दस हजार ४६२ मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गरेको छ । भारतमा मसला प्रयोजनका लागि अदुवा बिक्ने जनाइएको छ । चैत, वैशाखमा रोपेर कात्तिकमा पाकेपछि बेच्न थालिने अदुवा माघभित्र बेची सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्