राजविराज, २२ माघ । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ स्थित बहुविवाह गर्ने एक जोडीलाई जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले तारेखमा रहेका आरोपितहरु ३४ वर्षीय जयराम साह र उनकी दोस्रो श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई सोमबार जनही एक वर्ष कैद सजायको फैसला गरेको हो ।
अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पीडितले उजुरीका साथ पेश गरेको विवाह दर्ता, छोराहरुको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कंकालिनी भगवती मन्दिरको रसिदका आधारमा बहुविवाह गरेको दावी पुष्टि भएकोले कैद र जरिवानाको फैसला गरिएको हो । साहकी पहिलो श्रीमती २५ वर्षीया सञ्जुदेवी साहले आरोपितहरुविरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७३ जेठ १७ गते दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । जयरामले कुटपिट गरी जेठी श्रीमतीलाई घरनिकाला गरेपछि दोस्रो बिहे गरेका थिए । जयरामले हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाकी रुबनकुमारीसँग भारदहस्थित कंकालिनी भगवती मन्दिरमा ०७२ फागुन १२ गते दोस्रो विवाह गरेका थिए ।
फैसला कार्यान्वयनका लागि अभियुक्तहरुलाई पत्राचार गरिने अदालतले जनाएको छ । सामाजिक परम्पराअनुसार २०६८ फागुन २९ गते विवाहित पीडितका पाँच र तीन वर्षका दुई छोरा छन् । पीडितले नावालक छोराहरुको हकमा संरक्षक भइ आफ्नो हकमा समेत ०७३ जेठ ६ गते माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक तीन हजार भराइपाउने फैसला समेत सोमबार भएको अदालतले जनाएको छ ।