बिराटनगर फाल्गुन १२ ।
भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज मृत्यु भएको छ ।
उनको बिराटनगरस्थित परोपकार घाटमा राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।
नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढाएका थिए ।
शनिबार मध्यरातमा अस्वस्थ भएपछि नोबेल मेडिकल कलेज लैजाने क्रममा उनको निधन भएको हो । गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित भएका पोखरेल काठमाडौं र बिराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि बिराटनगरस्थित निवास आराम गरिरहेका थिए ।
भाषाशास्त्री पोखरेलेको मृत्यु शोकमा बिराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।मंगलबार महानगरमा सार्वजनिक विदा दिने मेयर भीम पराजुलीले बताए ।