देउखुरी, फागुन १८ गते ।
कुनै बेला बन्दुक बोकेर युद्धमा होमिएका जनमुक्ति सेनाको उद्यम लोभलाग्दो छ । दाङ राप्ती गाउँपालिका वडा २ नयाँबस्तीका राजकुमार तामाङको उद्यमले युवालाई स्वदेशमै काम गर्ने राम्रो उत्पे्ररणा पनि दिन्छ ।
२०६७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै जनमुक्ति सेनाको सदस्य बनेका तामाङले कुखुरापालन, बाख्रापलनलगायतको क्षेत्रबाट राम्रो आम्दानी गर्नुभएको छ ।
शान्ति प्रक्रिया शुरु भएसँगै जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश रोज्नुभएका तामाङले २०७० सालदेखि ब्रोइलर कुखुराको व्यावसायिक पालन गर्न शुरु गर्नुभएको हो । उहाँले करिब दुई सय कुखुराबाट व्यवसाय शुरु गरे पनि हाल उहाँको फर्ममा करिब डेढ हजार कुखुरा छन् ।
स्वेच्छिक अवकाश रोजेपछि सरकारबाट पाँच लाख रुपियाँँ पाउनुभएका उहाँले उक्त रकमबाट घर बनाउनुभयो । घर बनाएसँगै उहाँले स्थानीय लघुवित्त संस्थाबाट ऋण लिएर कुखुरापालन शुरु गरेको बताउनुभयो ।
उहाँलाई श्रीमती लोकमाया चौधरी तामाङले सघाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, श्रीमतीले सघाएकी छिन्, मैले पनि उत्तिकै मिहिनेत गरेको छु, काम र कमाइबाट सन्तुष्ट छु । कुखुरा बिक्रीबाट मात्रै मासिक ३० देखि ४० हजार रुपियाँ आम्दानी गर्ने उहाँले बाख्रा बिक्रीबाट पनि वार्षिक दुई लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । तामाङले अहिले २० वटा बाख्रा पाल्नुभएको छ । योसँगै उहाँले नजिकै १० कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आउनुभएको छ ।
उहाँले तरकारी र अनाज बिक्रीबाट वार्षिक दुई लाख ५० हजार रुपियाँ आम्दानी हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, मिहिनेती गर्न सके कोही पनि युवाले पैसा कमाउनकै लागि विदेशिनु पर्दैन ।