विराटनगर, १९ फागुन । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्न नरसिंह केसीले नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । अन्यथा काँग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरेका हुन् ।
विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समयावधि थप्न नहुने र महासमितिले दिएको म्यान्डेडलाइ महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भएपनि जथाभावी गरिएको आरोप लगाए ।
सभापति देउवा पदाधिकारीको समयावधि बढाउने तयारीमा छन् । तर उनको तयारीको विरोध हुन थालेको छ ।
नेता केसीले वहुमतका आधारमा तोडमोड गरी गरिएको विधान पारित मान्य नहने बताएका छन् । उनले तलैबाट निर्वाचित भएर आउनु पर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए ।
सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै उनले बुढीगण्डकी, वाइडबडी खरिद, फोर जी इजाजत जस्ता विषयले नेपालकै बद्नामी भएको बताए ।
केसीले नेपाल एयरलाइन्सको वाइड बडी बिमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भएको हो भने त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् ।
नेता केसीले भने,‘‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस ।’’
वाइड बडी खरिदमा भएको अनियमिमतामा संलग्न जो भएपनि कार्वाहीको दायरामा ल्याइनु पर्ने केसीको भनाइ छ ।
एक फरक प्रसंगमा पार्टीको सभापतिको उम्मेदवार बन्न उछिन पाछिन् गरेर अघि बढ्नुभन्दा सबैको सर सल्लाहमै तयारी गर्नुपर्ने बताए । 'म पनि सभापतिको आकांक्षी हो, उनले भने, तर सबैको सर सल्लाह र सहमतिमा मात्र निर्णय गर्छु ।'